आज विश्व सङ्गीत दिवस मनाइँदै

आज विश्व सङ्गीत दिवस मनाइँदै

काठमाडौँ । आज विश्व सङ्गीतदिवस मनाइँदैछ । पहिलोपटक सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस मनाइएको थियो ।

त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउने गरिएको छ ।

अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।

सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ–आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् ।

बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको देश नेपालमा मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरीदेखि बिनायोसम्म मौलिकता थप्ने बाजाहरू छन् । 

सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक संघले काठमाण्डौमा हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ ।

यसैबीच काठमाण्डौ उपत्यकाका नेवार समुदायले चार सय वर्ष अघिदेखि जेष्ठ शुक्ल पूर्णिमाका दिन सङ्गीत दिवसकारुपमा मनाउँदै आएका छन् ।

जेष्ठ शुक्ल पूर्णिमाका दिन ललितपुरको मंगलबजारमा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले तयार पार्नु भएको रागमलहारसहित ३२ वटा राग गाउँदै वाद्यवादन प्रस्तुत गरिँदै आएको छ । यसवर्ष जेष्ठ शुक्ल पूर्णिमा जेठ २१ गते परेको थियो ।