दार्चुलाका स्थानीय तह नीति तथा कार्यक्रम बनाउदै

दार्चुलाका स्थानीय तह नीति तथा कार्यक्रम बनाउदै

धनगढी । दार्चुला जिल्लाका नौँ वटै स्थानिय तहहरु यतिबेला अगामी आर्थिक बर्ष २०८०-८१ को नीति तथा कार्यक्रम बनाउनमा ब्यस्त छन् । 

स्थानीय तहहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने र असार २५ गतेभित्र बजेट ल्याईसक्नुपर्ने प्रावधान अनुसार तहहरु त्यसको तयारीमा ब्यस्त भएका हुन् ।

जिल्लाको महाकाली नगरपालिका यतिबेला अगामी आर्थिक बर्ष २०८०-८१ को नीति तथा कार्यक्रम बनाउन कार्यपालिकाको बैठक दिनदिनै डाकिरहेको  छ । जनताहरुको माग अनुसारका योजनाहरु तयार पारी असार ५ गते अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी भईरहेको महाकाली नगरपालिकाका नगर प्रवक्ता शंकरसिंह डोबालले जानकारी दिए । नगरपालिकाले पुराना योजनाहरलाई नै निरन्तरता दिइरहेको उनले बताए । खासगरी कृषि उत्पादनमा जोड दिइरहेको बताए ।   

यस्तै, जिल्लाको अपी हिमाल गाउँपालिकाले पनि जनताहरुको समस्याहरुलाई मध्यनजर गरि समयमै जनताका आवश्यकतालाई समाधान गर्ने हिसाबले असार ५ गते अगामी आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम ल्याउने तयारी भईरहेको गाउँपालिका अध्यक्ष भत्तसिंह ठेकरे बोहराले जानकारी दिए । अपी हिमाल भ्रमण बर्ष २०८० लाई मुख्य एजेण्डा बनाएको अध्यक्ष बोहराले बताए । ‘समग्र अपीको प्रर्यटन प्रर्वधन गर्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम ल्याउदै छौँ । कृर्षि क्षेत्रको सन्दर्भमा बाँझो रहेको जमिनलाई प्रयोगमा ल्याउछौँ—‘उनले भने ।

अपी हिमाल गाउँपालिकाका स्याउ खेती गर्नेहरुका लागि बोल्ड च्याम्बर बनाई किसानहरुका लागी बजारीकरण गर्नमा सहज गर्ने खालको बजेट ल्याउने अध्यक्ष बोहराले बताए । युवाहरुका लागि स्वरोजगार मुलक तालिम अहिले पनि दिईरहेको र अबको बजेटमा पनि युवाहरुको लागि अझ बजेट ल्याउने उनले बताए । 

जनताका राय सुझावहरु संकलन गरि उनिहरुका सुझावका आधारमा बजेट तयार गर्ने कार्य भइरहेको गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिए । 

जिल्लाका अन्य स्थानिय तहहरु समेत बजेट ल्याउने तयारीमा लागेका छन् । बजेट निर्माणका लागि सुझाव समेत संकलन भईरहेको बताईएको छ ।