१५ असारदेखि पाइपलाइनबाटै तेल

१५ असारदेखि पाइपलाइनबाटै तेल

आगामी १५ असारदेखि नेपालमा पहिलोपटक पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउने भएको छ । राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेका मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाबाट १५ असारदेखि पेट्रोलियम पदार्थ ल्याउने भएको हो ।

पहिलो चरणमा सो पाइपलाइनबाट डिजेल मात्र ल्याउन लागेको नेपाल आयल निगम कर्पोरेसनले जनाएको छ । कर्पोरेसनका अनुसार सुरुमा पाइपलाइनबाट प्रतिदिन ८ घण्टा डिजेल ल्याउने योजना छ । प्रतिघण्टा १ लाख ७० हजार लिटर डिजेल ल्याउन सक्ने क्षमताको सो पाइपलाइनबाट प्रतिदिन ८ घण्टाका दरले कूल १३ लाख ६० हजार लिटर डिजल नेपाल भिœयाउने निगमले जनाएको छ ।

नेपालसँग तेल भण्डारण गर्ने क्षमता नहुँदा सुरुमा दैनिक ८ घण्टा मात्र पाइपलाइन सञ्चालन गर्ने र ६ महिनापछि दैनिक १६ घण्टासम्म सञ्चालनमा ल्याउने योजना निगमको छ ।
‘अमलेखगन्जमा कुल १९ हजार ८ सय किलोलिटर डिजेल मात्र भण्डारण गर्ने क्षमता रहेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘भण्डारण क्षमताको अभावले सुरुमा ८ घण्टा मात्र पाइपलाइन सञ्चालन गर्ने योजना निगमको छ ।’

‘पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन अहिले तीनवटा ट्यांकी निर्माणको काम द्रुत गतिमा भइरहेको छ,’ उनले भने, ‘पाइपलाइनबाट इन्धन आपूर्ति हुने भएपछि अमलेखगन्ज डिपोमा ७८ लाख लिटर इन्धन भण्डारण गर्ने क्षमता विस्तार भइरहेको छ ।’

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्दा निगमलाई प्रतिलिटर एक रुपैयाँ नाफा हुने निगमले जनाएको छ । पेट्रोलियम पाइपलाइन निर्माण गर्दा लाग्ने लगानी दुई वर्षभित्रमा उठ्ने निगमको दाबी छ । त्यसपछि ढुवानी भाडा र चालकको पारिश्रमिक कटाएर निगमले वार्षिक करिब २ अर्ब रुपैयाँ नाफा गर्नेछ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्दा ढुवानी भाडा न्यून लाग्ने भएकाले आमउपभोक्ताले पनि अहिलेभन्दा केही सस्तोमा पेट्रोलियम पदार्थ पाउने प्रवक्ता गोइतको भनाइ छ ।