बर्तमान कृषि कर्जाको अवस्था कस्तो छ ?

बर्तमान कृषि कर्जाको अवस्था कस्तो छ ?

दार्चुला । सहुलियत कृषि कर्जा कार्यान्वयनको वर्तमान अवस्था तथा भावी रणनीति सम्वन्धि अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । बुधबार कृषि ज्ञान केन्द्र दार्चुलाको आयोजनामा आयोजित अन्तरक्रिया गोष्ठीमा दार्चुला जिल्लाको बर्तमान कृषि कर्जाको अवस्था र भाबी रणनीतिका बिषयमा केन्द्रित रहेर गोष्ठी सम्पन्न भएको हो । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रर्वधन गरी उत्पादन एवं रोजगारी अभिवृद्घि गर्न दिइने कर्जा दार्चुला जिल्लामा हाल सम्म शुन्य रहेको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिए ।

शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सिप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिलामा उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेसालाई आधुनिकीकरण एवं प्रवद्र्घन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरूलाई उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि तथा भूकम्पपीडितहरूको निजी आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा नेपाल सरकारबाट ब्याज अनुदान सुविधा उपलब्ध हुने गरी प्रवाह भईरहेको छ ।

कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तको अध्यक्षता तथा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख माहादेव बडू (कश्यय) को प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा प्रमुख जिल्ला अधिकारी किरण जोशी, कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका प्रमुख जयानन्द भटट, जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख राम बहादुर खड्का, जिल्ला स्थित बैंक तथा वित्तिय संस्थाका प्रमुख एवम प्रतिनिधि, स्थानिय तहका कृषि शाखा प्रमुख, लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कस कसले पाउँछन् सहुलियत कर्जा ?

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार प्रवाह हुने १० प्रकारका कर्जाका लागी कार्यविधिको अनुसूची १ मा तोकिएका व्यवसाय गर्न सहुलियतपूणर् कर्जा पाइन्छ ।

कार्यविधि अनुसार प्रति ऋणी ५ करोड रुपैयाँसम्म प्रवाह हुने व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, ७ लाखसम्म प्रवाह हुने शिक्षित युवा स्वरोजगार कर्जा, १० लाखसम्म प्रवाह हुने विदेशबाट फर्केका युवा परियोजना कर्जा, १० लाखसम्म प्रवाह हुने दलित समुदाय व्यवसाय विकास कर्जा, ५ लाखसम्म प्रवाह हुने उच्च र प्राविधिक तथा व्यावसायिक कर्जा र रु।३ लाखसम्म प्रवाह हुने भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जामा ५ प्रतिशत र १५ लाखसम्म प्रवाह हुने महिला उद्यमशील कर्जामा ६ प्रतिशत व्याज अनुदान दिने व्यवस्था रहेको छ ।

भुक्तानी अवधि बढीमा ५ वर्षको हुने यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले आप्mनो आधारदरमा २ प्रतिशत बिन्दुसम्म थप गरी व्याजदर कायम गर्न सक्ने र व्याज बाहेक अन्य कुनै शुल्क नलाग्ने कार्यविधिमा उल्लेख छ । यस अन्तर्गत प्रवाह हुने कर्जाको सुरक्षण र परियोजनाको बीमा हुने समेत व्यवस्था छ ।

१० लाख रुपैयाँ भन्दा बढीको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा बाहेक अन्य सहुलियतपूणर् कर्जाहरूको बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत सुरक्षण गराउँदा लाग्ने शुल्कको ७५ प्रतिशत अनुदान उपलब्ध हुनेछ ।

यसै गरी १० लाख रुपैयाँ भन्दा बढीको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा बाहेक अन्य सहुलियतपूणर् कर्जा लिई गरिने व्यवसायको बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान उपलब्ध हुनेछ । व्यावसायिक रुपमा गरिएको कृषि तथा पशुपन्छीजन्य व्यवसायका लागि ५ करोडसम्म व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह हुने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाहरूले रु।१० लाखसम्मको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा सामूहिक जमानीमा र सो भन्दा बढीको कर्जा व्यावसायिक परियोजना धितोमा प्रवाह गर्न सक्नेछन् । महिलाहरूलाई एकल वा सामूहिक रूपमा उद्यमशील बन्न रु।१५ लाखसम्म प्रवाह हुने कर्जा महिला उद्यमशील कर्जा हो। १८ वर्ष उमेर पूरा भएका महिला वा फरक परिवारका कम्तीमा पाँच जना १८ वर्ष उमेर पूरा भएका महिलाहरूको समूहले सामूहिक जमानीमा यस्तो कर्जा लिन सक्नेछन् ।