स्वस्तिमा र वर्षाको ‘एैंचो पैंचो’लाई भदौ १५ मा ल्याउने तयारी

स्वस्तिमा र वर्षाको ‘एैंचो पैंचो’लाई भदौ १५ मा ल्याउने तयारी

कृषा चौलागाँइको डेब्यू निर्देशनमा तयार भएको फिल्म ‘एैंचो पैंचो’को प्रदर्शन मिति तय भएको छैन । तर, यो फिल्म भदौको २९ गतेबाट रिलिज हुन्छ भन्ने चर्चा फिल्म क्षेत्रमा चलेको लामै समय भैसकेको छ । फिल्मको निर्माणपक्षले भने अहिलेसम्म आधिकारिक रुपमा कुनै पनि प्रचार सामाग्री र प्रदर्शन मिति सार्वजनिक गरेको छैन । 

यो फिल्मलाई तीजको छेकोमा नै ल्याउने तयारी कृषाको थियो । तर, भदौको २९ गते ‘नांगो गाउँ र भगवत् गीता’ आउने पक्का भएपछि यो फिल्म यो मितिमा नआउने भएको छ । 

वुझिएअनुसार, फिल्मलाई भदौको १५ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । यो मितिमा पहिले ‘भगवत् गीता’ रिलिज हुने चर्चा थियो । तर, बलिउड नायक साहरुख खान अभिनित फिल्म ‘जवान’ भदौको २१ गतेबाट रिलिज हुने भएपछि निर्माता सुनिल कुमार थापाले भदौ २९ गते ‘भगवत् गीता’ रिलिज गर्ने निर्णय गरे । 

फिल्म ‘एैंचो पैंचो’मा नायिका स्वस्तिमा खड्का, वर्षा राउत, नायक सुशिल सिटौला लगायतका कलाकारको अभिनय छ । फिल्मको कथावस्तुको बारेमा निर्माणपक्षले केही पनि बोलेको छैन ।