हर्क साम्पाङको प्रशंसामा कलाकार

हर्क साम्पाङको प्रशंसामा कलाकार

पानीको अभाव झेलिरहेको धरान उप–महानगरपालिकामा ४०  किलोमिटर टाढाबाट श्रमदानको माध्यमबाट पानी ल्याउन सफल भएपछि मेयर हर्क साम्पाङ चर्चामा छन् । स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएपछि हर्कको चर्चा सुरु भएको हो ।

यसपछि, उनी दैनिकजसो आफ्नो काम र सामाजिक संजालमा लेखेका स्टाटसका कारण चर्चामा रहन्छन् । उनै, साम्पाङले धरानलाई पानी नखुवाएसम्म नफर्किने वाचा गरेका थिए । उनले, आफ्नो वाचा पुरा गरेका छन् । 

हर्कले आफ्नो वाचा पुरा गरेपछि सामाजिक संजालमा उनको प्रशंसामा आम मानिसदेखि सेलिब्रिटीहरुसम्मले स्टाटस लेखिरहेका छन् । 

कलाकार दीपकराज गिरी लेख्छन्–‘हो, यस्ता फोटोल आनन्द दिन्छ । ठूला राजनीतिक गफ होइन । विकास मात्रै लक्ष्य ।’ हर्क पानीमा भिज्दै गरेको तस्वीर शेयर गर्दै दीपकले यो स्टाटस लेखेका छन् । 

निर्माता सरोज न्यौपानेले लेखेका छन्–‘ठूला ठूला गफ मात्रै दिनेहरुको भिडमा एउटा काम गरेर प्रमाणित गर्ने असल अनुहार यही देशमा देख्न पाइयो । सलाम छ तपाइलाई ।’यस्तै, निर्देशक प्रदीप भट्टराइले ‘धरानबासीको सपना पुरा भएको दिन’ भन्दै हर्क साम्पाङ पानी आएपछि रुदै गरेको भिडियो शेयर गरेका छन् । 

लेखक प्रदीप भारद्धाजले त हर्कसँग जोडिएका थुप्रै टिकटक भिडियोहरु सामाजिक संजालमा शेयर गर्दै उनको प्रशंसा गरेका छन् । 

हर्कको प्रशंसामा नेपाली फिल्मीकर्मीले स्टाटस लेख्दै उनलाई अझै काम गर्न प्रेरित गरिरहेका छन् ।