दिनेश र स्वप्न सुमनको फिल्मको छायांकन पोष्टपोन्ड, यस्तो छ कारण

दिनेश र स्वप्न सुमनको फिल्मको छायांकन पोष्टपोन्ड, यस्तो छ कारण

निर्देशक दिनेश राउतले गायक स्वप्न सुमनलाई मुख्य भूमिकामा लिएर निर्माण गर्न लागेको फिल्म पोष्टपोन्ड भएको बताएका छन् । यो फिल्मको छायांकन तत्काललाई पछि सरेको तर नबन्ने कुरा सत्य नभएको उनले मेरो फिल्मसँग बताए । 

दिनेशले भने–‘हामीले सिन्दूर जात्राको भव्य दृश्य खिच्नुपर्ने छ । अब, यसलाई सिन्दूर जात्रा नै हुने समयमा खिच्ने तयारी गरेका छौं । जसकाकारण फिल्मको छायांकन तत्काललाई पोष्टपोन्ड गरिएको हो ।’

दिनेशले फिल्मको तयारी भैरहेकाले नबन्ने हल्लामा सत्यता नभएको तर्क गरे । यो फिल्ममा गायक स्वप्न सुमन र गायिका दिक्षिता कार्कीले काम गर्ने पक्का भएको थियो । निर्देशक राउतले सबै कुरा पक्का भएपछि फिल्मको काम सुरु गर्ने बताएका छन् । 

धेरै फिल्म घोषणा गर्ने तर नबनाउने बिषयमा गरिएको प्रश्नमा उनले भने–‘मैले अफिसियल रुपमा फिल्म घोषणा गरेको छैन । एउटा कोही निर्माता वा कलाकार भेट्ने वित्तिकै मिडियामा  समाचार आउँछ । जसकाकारण, धेरै फिल्म बनाउन लागेको जस्तो देखिएको हो ।’

स्वप्न सुमनसँगको फिल्म पोष्टपोन्ड भएपछि तत्काल कुन फिल्म बन्छ भन्ने बिषयमा टुंगो नलागेको दिनेशले बताए । उनले भने–‘हामीले अब कुन फिल्म गर्ने भन्ने बिषयमा तत्काल टुंगो लगाएका छैनौं । एक सातामा सायद कुन फिल्मको काम पहिले सुरु हुन्छ भन्ने बिषयमा थाहा हुनेछ ।’

निर्देशक राउतले निर्देशन गरेको फिल्म ‘प्रकाश’ गतबर्ष रिलिजमा आएको थियो ।