कालापानी क्षेत्रको चार किल्ला सहितको आफ्नो भौगोलिक सीमा माग गर्ने

कालापानी क्षेत्रको चार किल्ला सहितको आफ्नो भौगोलिक सीमा माग गर्ने

दार्चुला । भारत र चीन सँग सीमा जोडिएको दार्चुलाको व्याँस गाउँपालिकाले नेपाल सरकार सँग चार किल्ला सहितको आफ्नो भौगोलिक सीमा छुट्याउन माग गर्ने जनाएको छ । सोमवार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल सरकारसँग चार किल्लासहितको आफ्नो भौगोलिक सीमा छुट्याउन माग गर्ने जनाइएको हो । 

सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सामा लिपुलेक, लिम्पियाधूरा र कालापानीलाई समावेश गरेको भएपनि गाउँपालिकाको समग्र सीमा कति हो भनेर माग गरिने गाउँपालिकाका प्रवत्ता उपेन्द्र सिंह धामीले बताए । 

व्याँस गाउँपालिकाको ३ सय ३५ वर्ग किलोमिटर क्षेत्रफल भारतद्धारा अतिक्रमित छ । पत्रकार सम्मेलनमा गाउँपालिकाको तर्फबाट आधिकारीक धारणा प्रस्तुत गर्दै प्रवत्ता धामीले सरकारलाई व्याँसको जिरो पोइन्ट सीमा बारे माग गर्ने बताए । 

०७७ जेठ ७ गते नेपाल सरकारले लिपुलेक, लिम्पियाधूरा र कालापानीसहितको ३ सय ३५ वर्ग किलोमिटर भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । सरकारले जारी गरेको उक्त नक्सामा उत्तर–पश्चिम छेउको नाबी, कुटी, गुञ्जी नेपालको दार्चुला जिल्ला व्याँस गाउँपालिका–१ मा पर्छ । २०१५ सालमा भएको नेपालको पहिलो आमनिर्वाचनमा मतदान गरेका र २०१८ सालको राष्ट्रिय जनगणनामा समेटिएका नाबी, कुटी र गुञ्जीवासीले २०३५ सालमा दार्चुला जिल्ला मालपोत कार्यालयमा जग्गाको तिरो तिरेका रसिदहरू छन् । सुगौली सन्धि (सन् १८१६) अनुसार लिम्पियाधुरा मुहान भएको काली नदी (महाकाली) पूर्वका सबै भूभाग नेपालको हो । तर, भारतले लिम्पियाधुराभन्दा कोशौं पूर्वमा पर्ने नेपाली भूमि कालापानीमा आफ्नो फौज खडा गरी क्याम्प राखेको छ ।

पत्रकार सम्मेलनमार्फत कार्यपालिकाका निर्णय सार्वजनिक 

व्याँस गाउँपालिकाले कार्यपालिका बैठकका निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । सोमवार जिल्ला सदरमुकाम खलंगामा गाउँ कार्यपालिकाको २० औँ बैठकका निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका हुन् । व्याँस गाउँपालिकाले पहिलो पटक चीन सीमा क्षेत्रको बिकट गाउँ तिंकरमा कार्यपालिका बैठक राखी विभिन्न निर्णय गरिएको गाउँपालिकाका प्रवत्ता उपेन्द्र सिंह धामीले पत्रकार सम्मेलनमार्फत बताए ।  

उनका अनुसार तिंकरमा बसेको कार्यपालिका बैठकले तिंकरमा गुणस्तरीय संचार सेवाका लागि तत्कालै नेपाल टेलिकमको थ्री जी सेवा संचालनमा ल्याउन पहल गर्ने निर्णय भएको छ । यस्तै कोरोना कालदेखि बन्द चीनसँगको नाका तिंकर (ताक्लाकोट) नाका संचालनका लागि पहल गर्ने, छाङरु र बुदि र कौवामा बिओपी स्थापनाका लागि पहल गर्ने, पर्यटन प्रवद्धन गर्ने, स्थानीय घरेलु मदिरालाई ब्राण्डसहित बैधानिकताको प्रक्रिया थाल्ने लगायतका निर्णय भएको उनले बताए ।  

कार्यपालिका बैठकले व्याँसमा अभाव हुने खाद्यान्नको आपूर्तिका लागि खाद्य कार्यालयसँग सहकार्य गरी ढुवानीको व्यवस्था गर्नुका साथै सीमा क्षेत्रका सुरक्षाकर्मीका लागि खाद्यान्नको बन्दोवस्तीका लागि पनि सरकारलाई आग्रह गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी गराए । व्याँसमा असारको पूर्णिमाको दिन छिरिङछ्याङ क्षेत्रमा घोडे दौड (जात्रा) आयोजना गरिने जनाइएको छ  ।