बरघर भल्मन्साको भुमिका महत्त्वपूर्ण छ : कानुन मन्त्री सिंह

बरघर भल्मन्साको भुमिका महत्त्वपूर्ण छ : कानुन मन्त्री सिंह

धनगढी । थारू समुदायमा अहिलेपनि स्थानीय न्यायिक समितिको न्यायसम्पादन प्रक्रियामा अगुवा भल्मन्सा, बरघरहरु सहयोगी भूमिका खेल्दै आएका छन् । उनीहरु परम्परागत सामाजिक न्यायमा सक्रिय छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहले स्थानीय न्याय सम्पादनमा बरघर, भल्मन्साहरुको भुमिका महत्त्वपूर्ण रहेको बताएका छन ।

शुक्रबार कृष्णपुर नगरपालिकामा थारु कल्याणकारीणि सभा कञ्चनपुरद्वारा आयोजित बरघर, भल्मन्सा, सुढेनी, चिराकी गुरुवाहरुका लागि कानून तथा मानव अधिकारबारे सचेतना कार्यक्रममा सो कुरा बताएका हुन ।

उनले अहिलेपनि थारु समुदायमा स्थानीय न्याय सम्पादनमा बडघर भल्मन्साहरुले काम गरिरहेको बताउदै उनीहरुलाई उचित कानुनी परामर्शको जरुरत रहेको बताए ।

कार्यक्रममा कञ्चनपुरका धेरैजसो स्थानीय पालिकामा न्यायिक समितिले पनि न्याय सम्पादन प्रक्रियामा भलमन्सा र बरघरको सहयोग लिने गरेको सहभागिहरुको भनाई थियो ।

स्थानीय न्यायिक समितिले ऐनले तोकेका विषय वा विवादमा पक्ष, विपक्ष दुवैलाई आमुन्नेसामसन्ने राखेर छलफल गर्ने र मेलमिलाप गराउने भलमन्साहरुके भुमिका रहेपनि उनीहरुलाई काम गर्ने क्रममा केही कानूनी जटिलता आइपर्ने बताएका थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभासदस्य गीता चौधरीले गाउँका अगुवा, भल्मन्सा गुरुवा लगायतले के कस्तो मुद्धामा सहजीकरण गरिरहेको बताइन् । उनले फौजदारी मुद्धामा भल्मन्साहरु सहजिकरण नगर्न अुनुरोध समेत गरेका थिए ।

भल्मन्साहरुले फौजदारी मुद्दा बाहेक गाउँघरमा सिर्जना हुने विवादको समाधानकोलागि पनि संविधानको ऐनलाई मध्यनजरगरि सहजीकरण गर्नुपर्ने बताइन् ।

यस्तै राष्ट्रिय मानब अधिकार आयोग सुदूरपश्चिम प्रमुख हरि ज्ञवालीले मानव अधिकार, सिद्धान्त, अधिकारका वर्गिकरण, संबैधानिक व्यवस्था, राज्यको दायित्व लगयत विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा थारु कल्याणकारीणि सभा कञ्चनपुरकि अध्यक्ष सानू चौधरीले थारु समुदायका बडघर भल्मन्साहरुका न्यायीक परामर्शका लागि सरकारले बजेट विनियोजन गर्नुपर्ने बताइन् । यस्तै समसामयिक साँस्कृतिक, सामाजिक अवस्था र नेतृत्व विकासको बारेमा धारणा राखेकी थिइन् ।