दार्चुलामा नियम विपरीत भाडा उठाउँदै जीप ब्यवसायी

दार्चुलामा नियम विपरीत भाडा उठाउँदै जीप  ब्यवसायी

दार्चुला । जिल्ला सदरमुकाम खलंगा देखि चल्लेगाडा सम्मको जीप भाडादर २४२ रुपैयाँ निर्धारण गरिएको भएपनि सवारी धनीहरुले नियमविपरीत भाडा उठाईरहेका छन् ।

सवारी साधनहरुको नयाँ भाडादर निर्धारण गरिएको एक हप्ता हुँदा सम्म पनि कार्यान्वयमा समेत आएको छैन । यहि जेठ १४ गते आइतवार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले छोटो दूरीका सवारी साधनहरु (जिप) को नयाँ भाडादर निर्धारण गरेको थियो ।

नयाँ भाडादर अनुसार साविकको निर्धारण गरिएको मूल्यमा ३.२ प्रतिशतले घटेको हो । जेठ १५ गतेदेखि लागू हुने गरी भाडादर निर्धारण गरिएको थियो । जसमा खलंगा देखि चल्लेगाडा सम्मको नयाँ भाडादर २४२ रुपैयाँ निर्धारण गरिएको भएपनि पुरानै भाडा ३०० रुपैयाँ लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

३०० रुपैयाँ दिने भए जीपमा वस्नु नभए नजानु भनि जीप ब्यवसायीहरुले थर्काउने समेत गरेको एक यात्रुले गुनासो गरे । तर निर्धारण गरिएको भाडादरमा भने ब्यसायीहरुले चित्त नवुझेको भन्दै भाडादर पुरानै कायम गरिदिन जिल्ला प्रशासन कार्यालय पुगेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

नयाँ भाडादर लागु भएकोले सोही अनुसार भाडा लिन ब्यवसायीहरुलाई प्रजिअ जोशीले आग्रह गर्नु भएको छ । यता ट्राफिक प्रहरीलाई भने खलंगा देखि चल्लेगाडा सम्मको रुटमा जीप ब्यवसायीहरुले बढी भाडा लिएको भन्ने कुनै गुनासो नआएको र कुनै पनि यात्रुबाट तोकिएको भाडादर भन्दा बढी भाडा लिएको गुनासो आए जीप ब्यवसायीलाई तत्काल कार्वाही हुने जनाएको छ ।

साविकको खलंगादेखि धापसम्मको ६० रुपैयाँ कायम गरिएकोमा अब २ रुपैयाँ घटेर ५८ रुपैयाँ कायम भएको हो । यस्तै खलंगा दत्तुको नयाँ मूल्य ९६ रुपैयाँ, खलंगा मेलखेतको १४५, खलंगा पस्तीको २१७, खलंगा गोकुलेश्वरको ४३५, गोकुलेश्वर बँलाचको ९६, बँलाच लटिनाथ र लटिनाथ मकरीगाडको २४२, गोकुलेश्वर धुलिगडा १९३, धुलिगडा होपरीगाड र होपरीगाड दल्लेख १४५, खलंगा काँटै ७२, खलंगा सेला ९६, खलंगा झुस्कु ११६, खलंगा दल्लेख २४२, खलंगा श्रीबगड ४८, खलंगा चल्लेगडा २४२, खलंगा जोलजिवी २४२, खलंगा सलेती ३३८, खलंगा ऐरीछाना २४२ र गोकुलेश्वर रिठाचौपाता ३३८ रुपैयाँ कायम गरिएको हो । यस्तै सवारी साधनहरुले भाडादर सबै यात्रुहरुले देख्नेगरी टाँस्नुपर्ने र क्षमताभन्दा बढी यात्रु नबोक्न प्रशासनले अनुरोध गरेको छ ।