मसिनो धानखेतीमा बढी आवेदन

मसिनो धानखेतीमा बढी आवेदन

धनगढी : सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अघि सारेको मसिनो तथा बास्नादार धानखेती विस्तार कार्यक्रमा लक्ष्यभन्दा बढी आवेदन परेको छ । मन्त्रालयले मसिनो तथा बास्नादार धानखेतीका लागि आवेदनका लागि आह्वान गरेकोमा लक्ष्यभन्दा बढी आवेदन परेको हो ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३ वैशाखमा सूचना जारी गरी चालू आर्थिक वर्ष २०७५/७६ मा कैलाली र कञ्चनपुरका लागि २ सय बिघा जग्गामा मसिनो तथा बासनादार धानखेती विस्तार गर्ने लक्ष्यसहित आवेदन माग गरेको थियो ।

मन्त्रालयका अनुसार कैलालीका विभिन्न स्थानबाट मात्रै ४ सय दुई बिघामा धानखेती गर्नका लागि आवेदन परेको छ । मन्त्रालयले कञ्चनपुरस्थित ज्ञान केन्द्रमा संकलन भएको आवेदन आउन बाँकी रहेको जनाएको छ । मन्त्रालयका वरिष्ठ बागवानी विकास अधिकृत यज्ञराज जोशीले कञ्चनपुरमा पनि सय बिघा बढी जग्गामा मसिनो तथा बासनादार धानका लागि आवेदन परेको हुन सक्ने अनुमान गरे ।

उनले भने, ‘झन्डै सय बिघा जग्गाका लागि किसान, समूह तथा सहकारी संस्थाबाट आवेदन परेको हुन सक्छ । मन्त्रालयमा सबैभन्दा बढी सहकारी संस्था र कृषक समूहबाट आवेदन परेका छन् । व्यक्तिको हकमा कम्तीमा एक बिघा जमिनको प्रस्ताव हुनुपर्ने भएकाले आवेदन कम परेको हुन सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा साम्बा मन्सुली, सबयग धान, सुगन्धित धान, सर्जु बाहुन, राम धान, सावित्री धानका लागि आवेदन परेको जनाइएको छ । योसँगै हाइब्रिड धानका लागि पनि आवेदन परेको जनाइएको छ । तर, मन्त्रालयले हाइब्रिड धानको बीउ उपलब्ध नगराउने जनाएको छ । किसानले रोजेको बीउ हामीले उपलब्ध गराउन नसके विकल्प रोज्न आग्रह गर्छौं,’ अधिकृत जोशीले भने ।

मसिनो तथा बास्नादार धानखेती विस्तार कार्यक्रमका लागि आवेदन दिने मिति सकिएको भए पनि मन्त्रालयले संकलन कार्य जारी राखेको जनाएको छ ।

मन्त्रालयले धानको बीउ आपूर्तिकतालाई सूचीकृत हुन आउने बारेको सूचना पनि जारी गरेको थियो । मन्त्रालयमा राष्ट्रिय बीउविजन कम्पनी, युनिक र वनदेवी सहकारी संस्थाले सूचीकृत गरेका छन् । वरिष्ठ बागवानी विकास अधिकृत जोशीले भने, ‘हामीले सरकारी कम्पनीलाई प्राथमिकता दिन्छौं ।’ त्यहा“बाट पुगेन भने निजी कम्पनीलाई पनि समावेश गराउनेछौं ।

मन्त्रालयले यो कार्यक्रमअन्तर्गत किसानलाई धान बीउको मूल्यमा ७५ प्रतिशत अनुदान दिइने तथा जिंक सल्फेटमा अनुदान, बाली संरक्षणमा सहयोग र बाली बिमा गराउन सहयोग गरिनेलगायतका सेवा सुविधा प्राप्त गर्ने जनाएको छ । सोहीअनुसार मन्त्रालयले स्रोत केन्द्र पहिचान गरी किसानलाई बीउ उपलब्ध गराउने जनाएको छ ।

मन्त्रालयले चालू आर्थिक वर्ष २०७५÷७६ को वार्षिक कार्यक्रमअनुसार कैलाली र कञ्चनपुरमा मसिनो तथा बासनादार धान उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापना गर्ने लक्ष्य लिएको छ । मन्त्रालयले कृषि ज्ञान केन्द्र, सम्पर्क कार्यालय कञ्चनपुर, सम्पर्क कार्यालय कैलाली र सीधै मन्त्रालयमा आवेदन संकलन गरिरहेको थियो ।

सुदूरपश्चिम प्रदेशलाई चामलमा आत्मनिर्भर बनाउन मन्त्रालयले मोटो धानभन्दा मसिनो र बासनादार धान उत्पादन वृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

विकास अधिकृत जोशीका अनुसार मोटो धान र मसिनो धानको मूल्यमा खासै अन्तर नहु“दा र मसिनो धानभन्दा मोटो धान छोटो अवधिमा उत्पादन हुने तथा वजनदार हुने भएकाले कृषकले प्रायः मोटो धानखेतीमा बढी ध्यान दिने गरेका छन् ।

४० वर्षअघि भारतमा चामल निर्यात गर्ने हामी नेपाली पछिल्ला दशकमा भारतबाटै वार्षिक ठूलो परिमाणमा चामल आयात गर्न बाध्य भएका जोशीको भनाइ छ । उनले चामलमा आत्मनिर्भर बनाउन सबैको सहयोग आवश्यकता रहेकोमा पनि जोड दिए ।

मन्त्रालयले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर तथा पहाडका चार जिल्लामा मसिनो तथा बासनादार खेती विस्तार गर्ने जनाएको छ ।

मन्त्रालयले यसका लागि जिल्लाका कृषि ज्ञान केन्द्रमा बजेट पठाइसकेको छ । मन्त्रालयले प्रदेशको डोटीमा जोरायली बासमती धानका लागि ६० बिघा तथा बझाङ, अछाम र बैतडीमा खुमलटार जातको धान उत्पादनका लागि २०÷२० बिघामा खेती विस्तार गरिने जनाएको छ ।