प्रविधि प्रयोग गरेर केही गर्न चाहनेका लागि ‘इनोभेटिभ घर नेपाल’

प्रविधि प्रयोग गरेर केही गर्न चाहनेका लागि ‘इनोभेटिभ घर नेपाल’

काठमाडौं । कुरा १० वर्षअघिको हो । संसारभर नयाँ(नयाँ प्रविधि विकास हुने क्रम तीव्र गतिमा अघि बढिरहेको थियो । यसको प्रभाव नेपालमा पनि उत्तिकै थियो ।

क्याथफोर्ड इन्टरनेसनल कलेजमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङु अध्ययन गरिरहेका विक्रान्त कार्की र उनको टिम विभिन्न कार्यक्रममा सहभागी भइरहेका हुन्थे । उक्त टिममा सोही क्याम्पसको विभिन्न तहमा अध्ययन गरिरहेका रिजन श्रेष्ठ, चेतबहादुर थापा, पंकज नेपाल, अभिषेक कुमार शाह, देव खड्का र लुम्निमा श्रेष्ठ आबद्ध थिए । 

उनीहरूले प्रविधिलाई आत्मसात् गरेर त्यसमा गरिरहेका नयाँ काम तथा परीक्षणलाई प्रशंसा गर्नेहरू पनि उत्तिकै थिए ।

त्यही समयमा उक्त टिमलाई पोखरामा आयोजना हुन लागेको वर्कशपका लागि बोलाइयो । वर्कशपमा उनीहरूले काठमाडौंमा जस्तो प्राविधिक परीक्षण गरिरहेका थिए, त्यही प्रयोग तथा परीक्षण पोखरामा देखाउनुपर्ने थियो ।

''हामीले काठमाडौंमा सामान्य तरिकाले जसरी प्रविधिको परीक्षण गरिरहेका थियौं, पोखरामा त त्यो भयङ्कर ठूलो मानिने रहेछ,' सुरुवाती दिन सम्झिँदै विक्रान्त भन्छन्, त्यस्तो देख्दा विश्वको तुलनामा नेपालमा टेक्नोलोजी ग्यापु धेरै छ भन्ने थाहा थियो । तर, नेपालभित्रै पनि प्रविधिमा मानिसहरू धेरै पछाडि रहेछन् भन्ने कुरा त्यो बेला थाहा भयो ।

यता आफूले प्रविधिको प्रयोग गरी गरेका कामहरू कतै देखाउन उनीहरू उत्तिकै आतुर थिए । त्यसपछि उनीहरूले यस्तो संस्थाको परिकल्पना गरे, जसका माध्यमबाट नितान्त नवीनतम् प्रविधिमा काम गर्न सकियोस्, नयाँ पुस्ताले सिकेका प्रविधिका कुरालाई सबै वर्गमा पुर्‍याउन सकियोस् ।

त्यसपछि सुरु भयो ''इनोभेटिभ घर नेपालुको यात्रा । 

के हो इनोभेटिभ घर नेपाल ?

नेपाली समाज प्रविधिको प्रयोग गर्ने कुरामा धेरै पछाडि परेको महसुस गरेको यो विद्यार्थी टिमले नेपालमा एउटा गैरनाफामुखी संस्था सञ्चालन गर्ने योजना बनायो ।

नवीनतम् सोच, ऊर्जा र जाँगरले ओतप्रोत टिमको घरका रूपमा विकास गर्न खोजिएको संस्थाको नाम नै इनोभेटिभ घर नेपाल राख्ने निधो गरियो । यतिबेलासम्म इनोभेटिभ घर नेपालको आइडिया परिकल्पनामा मात्र सीमित थियो ।

पोखराको वर्कशप सकिएपछि उनीहरू काठमाडौं फर्किए र आफ्नो पढाइ, काम र सँगसँगै नयाँ परियोजनालाई पनि अगाडि बढाउन थाले ।

''पोखराबाट फर्किसकेपछि हामीले विभिन्न सिरिज सञ्चालन गर्यौं,' त्यसबेलाको परिस्थिति सम्झिँदै विक्रान्त भन्छन्, ''हामीले हरेक हप्ता कलेजमा जे सिकेका वा जानेका थियौं, ती कुराहरू सिकाउन थालेका थियौं । इनोभेटिभ घर नेपालबाट पनि यही कुरालाई निरन्तरता दिने हाम्रो योजना थियो ।''

यही परियोजनाका साथ संस्था स्थापना त भयो तर उक्त टिमलाई संस्था सञ्चालन गर्ने प्रक्रियाको जानकारी थिएन । जसले गर्दा ''इनोभेटिभ घर नेपालुलाई औपचारिक संस्थाका रूपमा स्थापना गर्न उक्त टिमले दुई वर्षसम्म सङ्घर्ष गर्नुपर्‍यो । त्यसपछि मात्र इनोभेटिभ घर नेपाल संस्थाका रूपमा विकास भएको कार्की सुनाउँछन् । 

उनीहरूको यो परियोजनामा साथ दिन अन्य इन्जिनियरिङ कलेजका विद्यार्थीहरू पनि जोडिए । विस्तारै पोखरा, बिराटनगर जस्ता सहरबाट पनि विभिन्न मानिसहरू उनीहरूको परियोजनामा जोडिएका थिए ।

सुरुवाती चरणमा एकले अर्कालाई आफूले सिकेका कुरा सिकाउने प्लेटफर्मका रूपमा इनोभेटिभ घर नेपाललाई अगाडि बढाइयो । सिक्ने र सिकाउने काम अघि बढिरहँदा उनीहरूले विभिन्न उद्योगसँग सहकार्य गरेर विभिन्न प्रविधि नेपालमै विकास गर्ने योजना बनाएका थिए ।

''हामीले सिक्ने र सिकाउने कामलाई निरन्तरता दिँदै उद्योगसँग सहकार्य गरेर रिसर्च एण्ड डेभलपमेन्टको काम अघि बढाउने योजना बनायौं,'' विक्रान्त अगाडि भन्छन्, हाम्रो मुख्य योजना नै संस्थालाई रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसनका रूपमा अगाडि बढाउने थियो ।''

संस्थामा आएका विभिन्न मानिसहरूलाई उनीहरूले ड्रोन प्रविधि, थ्रीडी प्रिन्टिङ प्रविधि जस्ता विषयमा व्यवहारिक परीक्षण गरेर देखाउँथे ।

त्यसैबीच सन् २०१५ मा संस्था सुरु गर्ने टिम आ-आफ्नै बाध्यताले संस्थाबाट टाढिए । कोही विदेश गए । कोही नेपालमा नै नयाँ काम गर्ने प्रण गर्दै आफ्नै परियोजनामा काम गर्न थाले । त्यसपछि संस्था सम्हाल्ने जिम्मा विक्रान्तको काँधमा आयो । उनी सुरुवाती दिनदेखि अहिलेसम्म महासचिवका रूपमा इनोभिटभ घर नेपाललाई नेतृत्व गरिरहेका छन् ।

पहिले भएका सदस्य गएपनि संस्थामा दिनानुदिन नयाँ-नयाँ विद्यार्थीहरू केही सिक्न र आफूले सिकेका कुरालाई एक्सपेरिमेन्ट गर्न इनोभेटिभ घरमा आइरहेका हुन्थे । त्यही समयमा हाल संस्थामा अध्यक्ष रहेका रहेका सद्दाम हुसेन धोबी, उपाध्यक्ष विक्रम श्रेष्ठ र सचिव रामकृष्ण यादव जोडिएका हुन् ।

यसरी संस्थालाई समर्थन गर्न विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरू आबद्ध हुन थाले ।

विक्रान्तका अनुसार सन् २०१७ मा उक्त संस्थामा ४५ जनाभन्दा बढी विद्यार्थी आबद्ध थिए । संस्थामा आउने सिक्ने र त्यहाँ सिकेको सीपलाई आफ्नै तरिकाले सुरु गर्नेहरू धेरै छन् ।

सय जना बढी लाभान्वित

इनोभेटिभ घर नेपालको परिकल्पनादेखि त्यसलाई वास्तविक स्वरूप सम्म ल्याउँदा ११ जना व्यक्ति आबद्ध थिए । विभिन्न समयमा विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी संस्थामा आबद्ध हुने क्रम अगाडि बढिरह्यो ।

कार्कीका अनुसार हालसम्म अनुसन्धान, खोज तथा विकासका लागि इनोभेटिभ घर नेपालमा १०० जनाभन्दा बढी आबद्ध भइसकेका छन् ।

 

नयाँ पुस्तालाई नवीनतम काममा सक्रिय बनाउन विश्वविद्यालयको भूमिका

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, इनोभेटिभ घर नेपाल आविष्कार तथा अनुसन्धान कार्यमा बढी सक्रिय भएका संस्थाहरू हुन् ।

नेपालमा यस्ता धेरै निजी तथा सरकारी संस्था छन् । तर, यस्ता संस्थामा आएर अनुसन्धान तथा खोज गर्ने विद्यार्थी तथा अनुसन्धानकर्मीको सङ्ख्या न्यून भएको इनोभेटिभ घर नेपालका उपाध्यक्ष विक्रम श्रेष्ठ बताउँछन् ।

ूइनोभेसन एन्ड रिसर्चमा नेपाल पछि पर्नुको कारण विश्वविद्यालय तहमा यसको व्यवहारिक प्रयोग नहुनु हो,ू श्रेष्ठ भन्छन्, ूविद्यार्थीले आफूलाई उपयुक्त हुने टिम र समर्थनहरू विश्वविद्यालयमा नै पाउन सक्छन् । त्यस्तै प्रोफेसर पनि यस्ता कार्यमा अग्रसर हुन्छन् । तर नेपालमा विश्वविद्यालय तहबाट रिसर्च एन्ड इनोभेसनका कामहरूमा सहयोग नहुँदा नयाँ पुस्ता विदेशिन बाध्य छन् ।ू

आफैं बुझेर यस्ता संस्थामा आउनेहरूले आर्थिक तथा अन्य समस्या सामना गर्नुपर्ने हुन्छ । त्यसको विकल्पमा विश्वविद्यालय तहबाटै उनीहरूलाई आवश्यक पर्ने सबै कुराहरूको व्यवस्था गर्न सकियो भने नयाँ पुस्ता इनोभेसनमा अगाडि आउँछ र देशको विकास हुन्छ ।

ूविदेशतिर हेर्ने हो भने प्रोफेसरहरूलाई विभिन्न प्रोजेक्टहरू आउँछ । उनीहरूले उक्त प्रोजेक्टमा इच्छुक विद्यार्थीलाई राखेर काम अगाडि बढाइन्छ । यस्तो हुँदा विद्यार्थीहरू आफैं विभिन्न परियोजनामा सक्रिय हुन्छन्,ू श्रेष्ठ भन्छन् । 

सरकारले नीति परिमार्जन गर्नुपर्छ

सामग्री आयात, निर्यात गर्ने नीति असहज हुँदा आफूहरूलाई गाह्रो भएको कार्कीको गुनासो छ । ''हामीले कुनै पनि इलेक्ट्रोनिक्स पार्ट खरिद गर्दा चुनौती छ,'' कार्की भन्छन्, ''भन्सार शुल्क पनि चर्को छ ।''

त्यस्तै आफूहरूले विकास गरेका प्रविधिलाई मान्यता दिने निकायको अभाव भएको उनले गुनासो पोखे ।

''नेपाल गुणस्तर चिन्हको प्रमाणीकरण लिन हामीलाई धेरै सकस पर्छ । त्यस क्षेत्रमा विज्ञता हासिल गरेका कर्मचारी राख्नु पर्ने हो,'' उनी भन्छन् । ​यसैगरी आफूले आविष्कार गरेका नयाँ प्रविधिको पेटेन्ट दर्ता गर्न पनि यो टिमले समस्या भोगिरहेको छ ।- टेकपाना