पिकलबलमा नेपाललाई १ स्वर्णसहित १५ पदक

पिकलबलमा नेपाललाई १ स्वर्णसहित १५ पदक

काठमाडौं ।  सिक्किममा सम्पन्न प्रथम सिक्किम नेशनल पिकलबल प्रतियोगितामा नेपाली खेलाडीले एक स्वर्णसहित १५ पदक जितेका छन् । भारतको राष्ट्रिय प्रतियोगिता भए पनि नेपाललाई पाहुना टोलीका रुपमा सहभागी गराइएको थियो ।

प्रतियोगितामा नेपालका लागि पुरुष एकलतर्फ कुमार प्रधानले स्वर्ण पदक जिते । उनले फाइनलमा गुजरातका खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेका हुन् । स्वर्ण विजेता कुमार प्रधान नेपाली टोलीका प्रमुख प्रशिक्षक पनि हुन् ।

यसैगरी महिला एकल र डबल्सतर्फ गरी जर्जिया चौधरीले तीनवटा रजत पदक जितिन् । स्वस्तिका महर्जन एक रजत र दुई कांस्य पदक हात पारिन् । प्रजुना अधिकारीले एक रजत र दुईवटा कांस्य पदक जितिन् ।

यसैगरी पुरुषतर्फ जनक फडेराले दुईवटा रजत पदक हात पारे । किरण खनालले एक रजत र सौरभ भण्डारीले एक कांस्य पदक जिते । प्रतियोगितामा नेपालको एक टोलीसँगै भारतका १० वटा प्रान्तका खेलाडीको सहभागिता रहेको थियो ।