खप्तड शैलेश्वरी म्याराथनमा  खड्का प्रथम

खप्तड शैलेश्वरी म्याराथनमा  खड्का प्रथम

डोटी । हाई अल्टिच्युड खप्तड शैलेश्वरी म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्का प्रथम भएका छन् । बुधबार खप्तडको ३ हजार ३ सय फिट अग्लो उचाइबाट खड्काले २ घण्टा ३७ मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी ४२ किलोमटर पार गर्दै प्रथम भएका हुन् । पदमार्गमा भएको म्याराथनमा पहिलोपटक सहभागि जाजरकोट घर भएका खड्काले नगद एक लाख २५ हजार प्राप्त गरे । विभिन्न म्याराथनमा सहभागि भएपनि उकालो ओरालो भएको पदमार्गमा आयोजित म्याराथनमा प्रथम हुँदा आत्मबल बढाएको भन्दै खड्काले खुसी व्यक्त गरे ।

डोटी उधोग वाणिज्य संघ र सुदूरपश्चिम खेलकुद परिषदको आयोजना तथा नेपाली सेनाको भैरव प्रसाद गणको व्यवस्थापनमा आयोजित खप्तड शैलेश्वरी म्याराथनमा स्वदेशी तथा बिदेसी गरी ४८ जना धावक सहभागि रहेका थिए । खप्तडको प्रचार प्रसार गर्ने उद्देश्यले म्याराथनको आयोजना गरिएको उधोग वाणिज्य संघका अध्यक्ष मोहन कलेलले बताए । गतवर्ष पनि खप्तडमा लाग्ने गङ्गा दशहरा मेलाको अवसर पारेर म्याराथन प्रतियोगिताको आयोजना गरिएको थियो ।

त्यस्तै त्रिभुवन आर्मी क्लबकै नरेन्द्र सिं रावत दोस्रो भएका छन् । २ घण्टा ३९ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भएका रावतले ८० हजार नगद पुरस्कार जिते । बैतडी घर भएका रावतले यस अघिका विभिन्न म्याराथनमा गोल्डमेडल प्राप्त गरेका धावक हुन् । उनले उकालोमा प्रतिस्पर्धीलाई पछाडि पारेका भएपनि ओरालोमा भने खड्का भन्दा पछि परेका थिए ।

तेस्रो भने जुम्लाका कर्णाली स्पोर्ट्स क्लबका बिरेन्द्र पाण्डेय भए । उनले २ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा दूरी पार गरेका थिए । तेस्रोलाई भने ५० हजार पुरस्कार रहेको थियो । पाण्डेयले विभागीय खेलाडीसँग प्रतिस्पर्धा गरेर तेस्रो स्थान प्राप्त गरेपनि आफू सन्तुष्ट रहेको बताए । म्याराथनमा सहभागि हुन लागेको ५ महिनामै कठिन बाटोमा पनि तेस्रो स्थान सुनिश्चित गरेको पाण्डेको प्रतिकृया थियो ।

महिलातर्फको हाफ म्याराथनमा पूर्ण लक्ष्मी प्रथम

महिलातर्फको हाफ म्याराथनमा भने त्रिभुवन आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने प्रथम भएकी छिन् । न्यौपानेले १ घण्टा १४ मिनेट १८ सेकेन्डमा निर्धारित दूरी २१.५ किलोमिटर पार गर्दै नगद ५० हजार जित हासिल गरिन् । त्यस्तै नेपाल पुलिस क्लबकी रेखा बिष्टले १ घण्टा २२ मिनेट १० सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन् । डोटी घर भएकी बिष्टले भने नगद ३० हजार प्राप्त गरिन् । त्यस्तै तेस्रो स्थानमा भने भैरब प्रसाद गणकी सुन्तला कडायत आइन ।

अछाम घर भएकी उनले एक घण्टा २६ मिनेट ८ सेकेन्डमा दूरी पुरा गरेकी थिइन् । कडायतले २० हजार नगद प्राप्त गरिन् ।