आईपीएल क्रिकेटको फाइनलमा आज चेन्नई र गुजरात भिड्दै

आईपीएल क्रिकेटको फाइनलमा आज चेन्नई र गुजरात भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा स्थानीय समयअनुसार साँझ साढे ७ बजेबाट खेल शुरू हुनेछ ।

फाइनल खेलमा उपाधिका लागि महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किंग्स र हार्दिक पंड्या कप्तान रहेको गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ ।

चेन्नई पहिलो क्वालिफायर जितेर शुरूमा फाइनलमा पुगेको थियो । गुजरात क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा पुगेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसपालिको आईपीएलमा अद्भूत संयोग परेको छ, जहाँ चालू सिजनको आईपीएलको पहिलो खेल खेलेका दुवै टीम फाइनलसम्म पुगेर उपाधिका लागि भिड्दैछन् । चालू सिजनको पहिलो खेल चेन्नई र गुजरातबीच ३१ मार्चमा अहमदाबादमा खेलिएको थियो । जुन खेलमा गुजरात ५ विकेटले विजयी भएको थियो । त्यसपछि पहिलो क्वालिफायरमा पनि चेन्नई र गुजरातबीचको खेल भएको थियो, जसमा चेन्नईले जितेर फाइनलमा पुगेको थियो ।