कर्णालीमा विपद् न्यूनिकरण अभ्यास

कर्णालीमा विपद् न्यूनिकरण अभ्यास

धनगढी । वर्षात्‌को बेला हुनसक्ने जल प्रकोपसम्बन्धी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कैलालीको चिसापानी क्षेत्रमा पर्ने कर्णाली नदीमा शुक्रबार नेपाली सेनाले ‘विपद् न्यूनिकरण संयुक्त कृत्रिम अभ्यास’ गरेको छ ।

नेपाली सेना सुदूरपश्चिम पृतना हेडक्वाटरको नेतृत्वमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतको संयुक्त टोलीले कर्णालीमा कृत्रिम अभ्यास गरेको हो । अभ्यासमा सेनाले बाढी तथा डुबानको समयमा फसेका व्यक्तिहरुलाई खोज तथा उद्धार, खोचमा फसेका व्यक्तिहरुलाई क्याराविनको सहायताबाट कर्णाली पुलबाट झरेर उद्धार अभ्यास गरेको थियो । सशस्त्र प्रहरीले गोताखोरबाट नदीमा बेपत्ताहरुको खोज तथा उद्धारको अभ्यास गर्नुका साथै घाइतेलाई उपचार प्रदर्शन गरेको सुदूरपश्चिम पृतनाले जनाएको छ ।

सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापालगायत सुरक्षा निकायका प्रमुखहरुको प्रत्यक्ष निरीक्षणमा सञ्चालन गरिएको अभ्यासले विपदमा एकीकृत रुपमा परिचालन भई खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन सहयोग पुग्ने देबीदल गण तेघरीका गणपती रवि केसीले बताए । (कान्तिपुर)