ग्रामीण क्षेत्रका महिलाद्वारा उद्योग सञ्चालन

ग्रामीण क्षेत्रका महिलाद्वारा उद्योग सञ्चालन

धनगढी । कैलालीको ग्रामीण क्षेत्रका महिलाले उद्योग सञ्चालन गरिरहेका छन् । ५० लाख रुपियाँभन्दा बढी लगानीमा महिलाले कुटानी पिसानी उद्योग सञ्चालनमा ल्याएका हुन् । कैलारी गाउँपालिका –५ सडकपुरमा रहेको चेतनशील महिला बहुद्देश्यीय सहकारी संस्थामार्फत महिलाले कुटानी पिसानी उद्योग सञ्चालनमा ल्याएका छन् ।

उद्योगबाट उत्पादित वस्तुको जिल्ला भरी निर्यात गरिने सहकारीका अध्यक्ष हीरा चौधरीले बताए । “लामो समयको प्रयासपछि हामीले यो उद्योग सञ्चालन गर्न सफल भएका हौं” उनले भने । उद्योग सञ्चालनका लागि कैलारी गाउँपालिकाको कार्यालयले २८ लाख र प्रदेश सरकारले चार लाख रुपियाँ बजेट सहयोग गरेको छ । बाँकी लगानी सहकारी आवद्ध महिलाको रहेको महिलाको भनाइ छ । 

उद्योगको उदघाटन गर्दै कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले महिलाले सञ्चालन गरेको उद्योग सफल हुने विश्वास व्यक्त गर्नुभयो । उनले यो उद्योगलाई पालिकाको ब्राण्ड बनाउने दावी गरे । 

उद्योग सञ्चालनका लागि २०७४ बाट प्रक्रिया थालिएको थियो । उद्योगले उत्पादन सुरु गरिसकेको छ । पछिल्लो समय खाद्य वस्तुमा मिसावट रहनेगरेकाले गुणस्तरमा विशेष ध्यान दिन कैलारी गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले बताईन ।