युवायुवतिले लिए संसदीय अभ्यास

युवायुवतिले लिए संसदीय अभ्यास

धनगढी । सुदूरपश्चिम प्रदेश युवा परिषदले सुदूरपश्चिमका युवायुवतीहरुलाई संसदीय प्रणालीसम्बन्धि अभ्यास गराइएको छ।

प्रदेशका युवाहरुको नेतृत्वदायी क्षमतामा अभिवृद्धी गर्ने उद्देश्यले धनगढीमा चार दिने संसदीय अभ्यास गराइएको हो । 

नमूना युवा संसद अभ्यासमा सामेल युवाहरुले संसदका काम कारबाही, सरकारका काम र छनौट हुने योजना लगायतका बारेमा जानकारी गराइएको हो।

नमूना युवा संसद अभ्यासबाट नेतृत्वदायी क्षमताको विकाससंगै सही नेतृत्व छनौट र आफ्ना अधिकारका विषयमासमेत जानकारी हुने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट प्रतिनिधिमुलक रुपमा युवायुवतीहरुलाई उक्त कार्यक्रममा सहभागी गराइएको थियो।

सो कार्यक्रममा प्रतिनिधि सभा, प्रदेशसभाले बनाउने ऐन, कानुन र कार्यान्वयनका चरणहरु बारे छलफल गरिएको थियो। जेठ ९ गतेदेखि सुरु भएको नमूना युवा संसद अभ्यास आज १२ गतेसम्म चलेको थियो। प्रदेश युवा परिषद सुदूरपश्चिमले हरेक वर्ष कार्यक्रम नै राखेर नमूना युवा संसद अभ्यास आयोजना गर्दै आइरहेको छ।

युवाहरुको क्षमता अभिवृद्धी र संसद तथा सरकारले गर्ने कामबारे अभ्यास दिनका लागि हरेक वर्ष यो कार्यक्रम आयोजना हुँदै आएको परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए।