२ महिनामा स्वस्तिमाका ३ फिल्म रिलिज

२ महिनामा स्वस्तिमाका ३ फिल्म रिलिज

गतबर्ष फिल्म ‘चिसो मान्छे’ औषत चलेपछि नायिका स्वस्तिमा खड्का हिट फिल्मको खोजीमा लागिरहेकी छिन् । स्वस्तिमाको माग नेपाली फिल्ममा पछिल्लो केही बर्षयता उच्च छ । यसैले, पनि स्वस्तिमाले निरन्तर फिल्ममा काम पनि गरिरहेकी छिन् । तर, हिट फिल्मलाई पछ्यारहेकी उनले सोचे अनुसारको सफलता भने पाएको देखिदैन । 

उनै, स्वस्तिमाको यो बर्ष ३ वटा फिल्म रिलिज हुने पक्का छ । तर, स्वस्तिमाको यो बर्ष तिन महिनामा तिन वटा फिल्म रिलिज हुने सेड्यूल छ । 

हुनत, भदौको २९ गते फिल्म ‘अ‍ैँचो पैँचो’ रिलिज हुने भनेर अफिसियल कुनै घोषणा भएको छैन । तर, कृषा चौलागाँइको निर्देशनमा तयार भएको यो फिल्म भदौ २९ गतेबाट रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष छ । अब, यो मितिमा ‘नाङ्गो गाउँ र भगवत् गीता’ पनि आउने भएपछि कृषाले फिल्म रिलिज गर्छिन् या गर्दिनन् पक्का छैन । तर, अहिलेसम्म कृषाको फिल्म भदौ २९ मा रिलिज हुन्छ भन्ने चर्चा छ । 

यो फिल्म रिलिज भएको एक महिनापछि अर्को फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज हुँदैछ । यो फिल्ममा स्वस्तिमा खड्काको साथमा विपिन कार्की र सौगात मल्ल मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई दशैंको फूलपाति लक्षित गरेर रिलिज गर्न लागिएको हो । स्वस्तिमाको लागि यो फिल्म महत्वपूर्ण छ । 

यो फिल्म रिलिज भएको २० दिनपछि स्वस्तिमाकै अर्को फिल्म ‘दिमाग खराब’ रिलिज हुनेछ । तिहारलाई लक्षित गरेर कार्तिकको २४ गतेबाट यो फिल्म रिलिज गर्न लागिएको हो । यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा लगायतका कलाकारको अभिनय छ ।

निश्चल बस्नेत फिल्मका निर्देशक हुन् । यसरीहेर्दा, २ महिनाको अन्तरमा स्वस्तिमा अभिनित ३ फिल्म रिलिज हुँदैछन् । र यी तिनै फिल्म स्वस्तिमाको करिअरका लागि महत्वपूर्ण छन् ।