बैतडीका ४५ वडा सचिव विहिन

बैतडीका ४५ वडा सचिव विहिन

बैतडी  । बैतडीका ८४ ओटा वडा मध्ये ४५ वडा सचिव विहिन रहेका छन् । वडाहरुमा सचिव नहुँदा वडा कार्यालयहरुले सम्पादनमा समस्या आइरहेको छ । वडा सचिवको अभावमा वडा कार्यालयबाट आधारभूत सेवा पाउन समेत नागरिकहरुलाई मुस्किल देखिएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिका ११ ओटा वडामध्ये ४ ओटामा सचिव छैनन् । सचिव नभएका वडामा प्राविधिक सहायकहरुले काम चलाउँदै आएका छन् । यस्तै डिलाशैनी गाउँपालिका ७ वडा मध्ये ४ वडा सचिव विहिन रहेका छन् ।

यसैगरी जिल्लाको दोगडाकेदार गाउँपालिका ८ ओटा वडा मध्ये ४ वडा सचिव विहिन रहेका छन् । यस्तै मेलौली नगरपालिकाका ९ ओटा वडा मध्ये ७ ओटामा सचिव नरहेका महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यस्तै पञ्चेश्वर गाउँपालिका ६ मध्ये ५ वडामा सचिव छैनन् भने पाटन नगरपालिकाका १० ओटा वडा मध्ये ६ ओटा वडा सचिव विहिन रहेका छन् । यस्तै शिवनाथ गाउँपालिकाका ६ ओटा वडा मध्ये एक वडा सचिव विहिन छ भने सिगास गाउँपालिकाका ९ ओटा वडा मध्ये ४ वडा सचिव विहिन रहेका छन् । 

यस्तै सुर्नया गाृउँपालिकाका ८ ओटा वडा मध्ये ६ वडा सचिव विहिन रहेका महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । यस्तै पुर्चौंडी नगरपालिकाका १० ओटा वडा मध्ये ९ ओटा वडा सचिव विहिन रहेका नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताए । वडा सचिव नभएका ठाउँमा प्राविधिक सहायकहरुले काम गर्दै आएका छन् । 

महालेखा परीक्षकको प्रतिवेदनले वडा सचिवहरुको दरबन्दी पदपूर्ती गर्नका लागि सम्बन्धित निकायमा लेखेर पठाउनुपर्नेमा जोड दिएको छ ।