दिनेश राउतसँग गर्न सक्छन् पलले दुईवटा फिल्म

दिनेश राउतसँग गर्न सक्छन् पलले दुईवटा फिल्म

एक वर्ष जेल जीवन विताएर गत फागुन १५ गते रिहा भएका अभिनेता पल शाह यतिबेला म्यूजिक भिडियोमा मात्र काम गरिरहेका छन् । उनलाई फिल्म प्रस्ताव पनि राम्रै पुगिरेहको छ । तर, जेलबाट छुटेपछि उनले कुनै फिल्म सम्झौता गरेका छैनन् । एउटा टिमसँग भने उनको सहकार्यको सम्भावना प्रवल छ । त्यो टिम हो, ‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउत र लेखक विकास सुवेदी ।

दिनेश र पलबीच सहकार्य गराउन विकासले मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन् । उनी आफैंले स्क्रिप्ट पनि लेखिरहेका छन् । विकास पलका लागि आफूले फिल्मको स्क्रिप्ट लेखिरहेको बताउँछन् । ‘उसका लागि दुईवटा स्क्रिप्टमा काम भैराखेको छ । पलको यो वर्ष दुईवटा फिल्म आउँछ । र, दुईटै हाम्रै टिमको प्रोजेक्ट हुन्छ । दुवै प्रोजेक्ट दिनेश राउत दाईसँग नै हुन्छ होला,’ उनले भने ।

ती फिल्ममा पल फरक हिसाबमा प्रस्तुत हुने सुवेदीको भनाई छ । ‘पलले यसअघि जस्तो फिल्म गरिरहेको थियो, अब त्यो हाइवेमा ऊ हुँदैन । यी प्रोजेक्टपछि उसमा ग्रोथ देखिन्छ । अब हतारमा काम गरेर करिअर अगाडि बढाउनु हुन्न भनेर उसलाई मैले ‘गाइड’ गरिरहेको छु,’ विकास भन्छन्, ‘फिल्म गर्नु ठूलो कुरा भएन तर आउँदाखेरि स्मरणीय कन्टेन्ट आउनुपर्छ । त्यसमा पल गम्भीर छ ।’

निर्देशक राउतले पनि पलसँग फिल्ममा सहकार्य हुनसक्ने संकेत गरे । उनले भने, ‘पलसँग सामान्य कुराकानी त भैराखेको छ तर, फाइनल भैसकेको छैन । मेरो पाइपलाइनमा पनि केही फिल्म छन् । पल र विकासको कुरा चाहिँ मलाई गराउने नै हो । अब मेरो समय के हुन्छ भन्ने कुरा हो ।’ निर्देशक राउत आगामी दशैंमा रिलिज गर्ने गरी एउटा लभस्टोरी फिल्म निर्देशनको तयारीमा छन् ।