हलमा एक हप्ता पनि टिकेन वर्षाको ‘ए साथी सुन’

हलमा एक हप्ता पनि टिकेन वर्षाको ‘ए साथी सुन’

गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जारी’पछि हलमा दर्शकको चहलपहल हराएको छ । व्यापारिक सफलताको आश गरिएका फिल्मले समेत बक्सअफिसमा दम तोडिरहेका छन् । यसले फिल्म क्षेत्रमा एकखालको सन्नाटा छाएको छ । यद्यपि, हरेक हप्ता फिल्म प्रदर्शनको सिलसिला रोकिएको छैन । यो हप्ता दुई नेपाली फिल्म ‘ए साथी सुन’ र ‘डाकिनी’ प्रदर्शनमा आएका थिए ।

यी दुई फिल्मको अवस्था पनि विजोगपूर्ण रहन पुग्यो । ‘डाकिनी’को रिलिज उद्देश्य व्यावसायिक प्रयोजन थिएन । कला चेत भएका दर्शकलाई लक्षित गरेर फिल्मलाई सीमित मल्टीप्लेक्स हलहरुमा प्रदर्शन गरिएको थियो । तर, सीमित हलमा पनि फिल्मले सीमित दर्शक पाउन सकेको छैन । ‘ए साथी सुन’ भने प्रदर्शनको तेस्रो दिनमै दर्शक अभावका कारण अधिकांश हलबाट उत्रिसकेको छ ।

फिल्ममा अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका छ । सोसल मिडियामा लाखौं फलोअर्स भएकी उनको फिल्म हलमा एक हप्ता पनि टिक्न छाड्नु गम्भीर आत्मसमीक्षाको विषय हो । हुन त वर्षालाई यो फिल्मबाट ठूलो आशा नै थिएन भन्ने कुरा उनले प्रचारमा समय नदिनुले पनि बुझाउँथ्यो । यतिसम्म कि उनले फिल्म रिलिज भएको जानकारी समेत सामाजिक सञ्जालबाट दिएकी छैनन् ।

अब आगामी कात्तिक ३ गते उनको नयाँ फिल्म ‘परदेशी २’ प्रदर्शन हुँदैछ । सफल फिल्मको सिरिज भएकाले यसको सफलताको सम्भावना प्रवल छ । यसैले वर्षाले यो फिल्मको प्रचारमा पर्याप्त समय दिन सक्छिन् । किनभने, कलाकारहरुमा बलेको आगो ताप्ने प्रवृति जो छ । फिल्ममा काम गरेपछि रिलिजसम्म काँध थाप्नु कलाकारको धर्म हो । त्यसमा सफलता र असफलता हेरिनु हुँदैन ।