लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको प्रधानमन्त्रीको दाबी

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार स्पष्ट रहेको दाबी गरेका छन्।

आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले उक्त दाबी गरेका हुन्। साथै प्रधानमन्त्रीले परराष्ट्र नीति सबै दलहरुको साझा धाराणा हुनुपर्ने बताएका छन्।

‘परराष्ट्र नीति सञ्चालनमा सबै राजनीतिक दलबाट एउटै धारणा हुनुपर्छ भन्ने कुरामा सरकार विश्वास राख्दछ। राष्ट्रिय हितलाई सर्वोपरी राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेकीलगायत सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्रीले भने, ‘देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान र सीमानाको सुरक्षाको लागि सरकार सदैव सचेत र प्रतिबद्ध छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ।’