गाउँपालिका अध्यक्ष धामीविरुद्ध अदालतमा कुटपिट मुद्दा दर्ता

गाउँपालिका अध्यक्ष धामीविरुद्ध अदालतमा कुटपिट मुद्दा दर्ता

बैतडी । बैतडीमा एक गाउँपालिका अध्यक्ष विरुद्ध जिल्ला अदालत बैतडीमा कुटपिट र गालीगबेइज्जतको मुद्धा दर्ता भएको छ । जिल्लको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीविरुद्ध जिल्ला अदालत बैतडीमा कुटपिट र गालीगबेइज्जतको मुद्धा दर्ता भएको हो । 

सिगास–४ को कान्धार–देउलेक सडक निर्माण समितिका अध्यक्ष बिरसिंह धामीले पालिका अध्यक्ष धामीबिरुद्ध मुद्दा दर्ता गरेका हुन् । आफूलाई अध्यक्ष धामीले कुटपिट र गाली बेइज्जती गरेको भन्दै बिरसिंहले मुद्दा दर्ता गरेका हुन् । 

यही जेठ २ सडक निर्माणको क्रममा दोस्रो किस्ता बाफतको रनिङ बिलमा पालिकाले २० लाख ४४ हजार रकमको चेक उपभोक्ता समितिलाई दिएको थियो । तर चेक साट्न जाँदा पालिकाले बैंकलाई पत्राचार गरेर चेक नसाट्न आग्रह गरेको थियो । 

चेक नसाटिएपछि उपभोक्ता समिति अध्यक्ष बिरसिंह धामी गाउँपालिकाको केन्द्र गर्जे पुग्दा गाउँपालिका अध्यक्षले कुटपिट गरेका थिए । जिल्ला अस्पतालमा उपचार गराइरहेका धामीले गाउँपालिका अध्यक्ष बिरुद्ध सोमबार अदालतमा मुद्दा दर्ता गरेका हुन् । 

अध्यक्ष धामीले सार्वजनिक पदको दुरुपयोग गर्दै कुटपिट र गाली बेइज्जती गरेको भन्दै उनीमथि कैद र जरीवानाका साथै उपचार खर्च माग गरिएको छ । 

गाउँपालिका अध्यक्ष धामीविरुद्ध अदालतमा कुटपिट र गाली बेइज्जती मुद्दा दर्ता भएको जिल्ला अदालत बैतडीका तहसिलदार तीर्थराज आचार्यले बताए । अध्यक्ष धामीको नाममा म्याद जारी भएको र म्याद प्राप्त भएको २१ दिनभित्र अदालतमा हाजिर हुनुपर्ने आचार्यले बताए । 

यता गाउँपालिका अध्यक्ष धामीले भने उपभोक्ता समितिका अध्यक्ष बीरसिंह धामीले मदिरा सेवन गरेर पालिका कर्मचारी र अध्यक्षसँग दुब्र्यवहार गरेको दाबी गरेका छन् । उनले किर्ते कागजपत्र बनाएर भुक्तानी लिएको थाहा पाएपछि बैंकलाई चेक नसाट्न अनुरोध गरेको बताएका छन् ।