जेलमा बस्दा पलको मन हुन्थ्यो मुस्ताङमा

जेलमा बस्दा पलको मन हुन्थ्यो मुस्ताङमा

अभिनेता पल शाहले एक घटनाका कारण एक वर्ष जेल जीवन विताए । गत वर्षको फागुनमा जेलमुक्त भएका उनले केही दिनको विश्रामपछि लगातार म्यूजिक भिडियोमा काम गरिरहेका छन् । उनको कमब्याक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सन अघिल्लो हप्ता रिलिज भयो । जसलाई उनी आफैंले निर्देशन गरेका थिए भने आफ्नै जेल जीवनलाई दृश्यमा उतारेका थिए ।

जेलबाट छुटेपछि उनको दोस्रो भिडियो ‘आँशु बनि नखस कैले नि’ शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । यो गीत मुस्ताङ क्षेत्रमा खिचिएको हो । पल आफैंले निर्मातासँग मुस्ताङमा छायांकनको प्रस्ताव राखेका रहेछन् । मुस्ताङसँगको ‘कनेक्सन’ उनको जेल जीवनसँग जोडिएको छ । उक्त कार्यक्रममा उनले गीत छायांकनका लागि मुस्ताङ रोज्नुको रहस्य खुलाए ।


‘गीत कहाँ खिच्ने भनेर छलफल हुँदा मैले मुस्ताङमा खिचौं भनेर प्रस्ताव राखेको थिएँ,’ उनले जेल जीवन सम्झँदै भने, ‘विश्वविद्यालय जेलमा हामी २ घण्टा मेडिटेसन गर्थ्यौं । त्यहाँ हामीले पर्खाल र आकाश मात्र देख्थ्यौं । मेडिटेसनमा शवासन भन्ने आशन हुन्छ । त्यो बेला गुरुले आँखा चिम्लेर पर्खाल बाहिरको दुनियाँमा आफूलाई कल्पना गर्नुस् भन्नुहुन्थ्यो । त्योबेला मेरो मन मुस्ताङमा हुन्थ्यो ।’

मेडिटेसन गर्ने ठाउँबाट उनी बस्ने कोठा मुस्ताङ पुग्नझैं टाढा थियो । कोठा पुग्न उनले ९/१० वटा चेनगेट पार गर्नुपर्थ्यो । ती चेनगेट खोल्दै निस्कँदा उनको मन भने सधैं मुस्ताङमा हुन्थ्यो । उनी सम्झन्छन्, ‘मुस्ताङको हरियाली, ल्यान्डस्केप, ड्राइनेस, खोला मात्र मलाई याद आउँथ्यो । निस्केपछि मुस्ताङ जान्छु भनेर सोच्थेँ । बाहिर निस्किएपछि मैले नै यो गीत मुस्ताङमा खिचौं भनेको थिएँ ।’

जेलमुक्त भएपछि पलले म्यूजिक भिडियोमा मात्र काम गरिरहेका छन् । उनलाई फिल्मबाट पनि प्रस्तावहरु पुगिरहेको छ । एउटा टिमसँग भने उनको काम गर्ने सहमति भइसकेको जानकारीमा छ । जेल जानुभन्दा अगाडि उनले तीनवटा फिल्म सम्झौता गरेका थिए । तर, अहिले उनी ती फिल्ममा काम गर्ने मनस्थितिमा नै देखिएका छैनन् । उनलाई फिल्ममा सुखद कमब्याकको दबाब छ ।