पल शाहको नयाँ म्युजिक भिडियो रिलिज, जोडीका रुपमा दोहोरिइन् सनिशा

पल शाहको नयाँ म्युजिक भिडियो रिलिज, जोडीका रुपमा दोहोरिइन् सनिशा

एक वर्षको कारागार बसाइबाट रिहा भएपछि अभिनेता पल शाहले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

उनको कमब्याक म्युजिक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनले युट्युबमा राम्रो भ्युज पाइरहेको छ । यसैक्रममा उनको अभिनय रहेको नयाँ म्युजिक भिडियो शनिवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।

केन्द्र मोशन पिक्चर्सको प्रस्तुतिमा ‘आँशु बनि नखस कैले नि’बोलको युगल गीतको भिडियो सार्वजनिक गरिएको हो ।

यो प्रेमगीतको भिडियोमा पल कमब्याक म्युजिक भिडियोकै जोडी सनिशा भट्टराईसँग प्रस्तुत छन् ।

यो गीतमा ऋषि खड्का र अनु चौधरीले स्वर दिएका छन् । शब्द एवं संगीत गायक खड्काकै छ भने केशव बडु गीतका एरेन्जर हुन् । ​

शान थापाको निर्देशन, राजीव समरको निर्देशन रहेको भिडियोमा पल र सनिशाको केमेष्ट्रि गज्जबको देखिएको छ । मनोरम दृश्यहरुमा अर्जुन तिवारीले छायाँकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

केन्द्र मोशन पिक्चर्सको अफिसियल युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । केन्द्र मोशनले लामो समयपछि म्युजिक भिडियो निर्माण गरेको हो ।