एक किलो अफिम र ४७ किलो चरेशसहित एकजना पक्राउ

एक किलो अफिम र ४७ किलो चरेशसहित एकजना पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष सूचनाको आधारमा लागुऔषध अफिम र चरेससहित १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका-८ घर भई कैलालीको धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी बस्ने ४६ वर्षीय काल्चे बोहरा छन्।

उनीसहितको समूहले अफिमको र चरेसको कारोबार गर्ने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। भारततर्फ उक्त लागुऔषध बिक्री गर्न लैजाँदै गरेको अवस्थामा डिएल३सिएडी ७०८१ नम्बको भारतीय गाडीसहित गएराति धादिङको गजुरी गाउँपालिका-१, सोतीखोलाबाट उनलाई पक्राउ गरिएकाे ब्युरोका डिआइजी दिनेश अमात्यले जानकारी दिए।

सोतीखोलाको कच्ची सडकमा उक्त भारतीय नम्बरको 'इएसटिइइएन भिएक्सआई' लेखिएकाे मारुती सुजुकी कारभित्र रहेका काल्चेलाई नियन्त्रणमा लिइएको थियो।

उनले गाडीको पछाडि सिटमुनि फल्स बटम बनाई ४ वटा रातो रंगको प्लाष्टिकको पाेका बनाएर राखेको अवस्थामा अफिम फेला परेको ब्युरोका प्रवक्ता कृष्ण प्रसाईले जनाए। उनको साथबाट ९ सय ७८ ग्राम अफिम पनि फेला परेको प्रहरीले जनाएको छ। खैरो रङको प्लाष्टिकमा टेपले बेरेर र्‍याप गरेको अवस्थामा अफिम फेला परेको थियो।

त्यस्तै उनको साथबाट लागुऔषध चरेस ४७ किलोग्राम फेला परेको डिआइजी अमात्यले जानकारी दिए।प्रहरीले उनको साथबाट एक वटा सिमकार्ड, निलो रङको सामसुङ मोबाइल बरामद गरेकाे छ।उनलाई 'लागुऔषध नियन्त्रण ऐन २०३३' अनुसार मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइने प्रहरीलले जनाएको छ।