विद्यार्थीको चाप बढ्दा कक्षा कोठाको अभाव

विद्यार्थीको चाप बढ्दा कक्षा कोठाको अभाव

कैलाली । सामुदायिक विद्यालयमा भर्ना कार्यक्रम अन्तिममा पुगेको छ । कैलालीमा केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गइरहेको अवस्थामा केही विद्यालयमा भने विद्यार्थीको चाप बढ्दै जानुलाई शैक्षिक गुणस्तर राम्रो भएको अभिभावकहरु बताउछन् ।

कैलालीको घोडाघोडी नगरपालिका –१० पहलमानपुरमा रहेको कान्तिराज्य माध्यामिक विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ । त्यहा अहिले करिब १७ सय विद्यार्थी भर्ना भएका छन् ।

वि.सं. २०७८ मा प्रदेश सरकारको सिफारिसमा ठुला विद्यालय पूर्वाधार विकास कार्यक्रममा छनोट भएको कान्ति माविमा विद्यार्थीको चापसँगै भौतिक पूर्वाधारको अभाव छ ।  विद्यालयका प्रधानाध्यापक उमाकान्त मिश्रले दुई समयमा कक्षा सञ्चालन गर्ने गरेको बताए ।

उहाँले विद्यालयमा १८ वटामात्र कक्षा कोठा रहेकाले कक्षा १ देखि १० सम्मको दिउँसो, कक्षा ११ र १२ को बिहान सञ्चालन गरिँदै आएको जानकारी दिए । कक्षा नौमा तीनवटा समूह रहेको जानकारी दिनुहुँदै उनले एउटा कक्षामा ९० जनाभन्दा बढी विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको बताए ।

नगरपालिकामा नतिजादेखि अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यालयको रुपमा रहेको कान्ति माध्यामिक विद्यालय विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ ।

ठुला विद्यालय कार्यक्रमको मान्यता अनुसार दुई हजार बढी विद्यार्थी  हुनुपर्ने बाध्यता कान्ति माविलाई छ । त्यसैले आएकालाई फर्काउन पनि नसकिने, सिमित स्रोत साधनका बीच अध्ययापन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक मिश्रको भनाइ छ ।

कैलालीको पूर्वीक्षेत्रका स्थानीयतहमा रहेका सरकारी विद्यालयमध्ये गौरीगङ्गा –४ मा रहेको कालिका माध्यामिक विद्यालय पनि शैक्षिक गुणस्तरमा नाम चलेको विद्यालयको रुपमा चिनिन्छ । हाल कक्षा १२ सम्म १३ सय विद्यार्थी भर्ना भएको यस विद्यालयमा माथिल्लो कक्षामा आवेदन फारममार्फत छनोट गरिन्छ ।

कक्षा आठदेखि अंग्रेजी र नेपाली माध्यममा पढाइ हुने जानकारी दिनुहुँदै विद्यालयका प्रधानाध्यापक युवराज कँडेलले कक्षा नौ र १० मा विद्यार्थीको चाप अत्यधिक बढेकोे बताए ।

पालिकामै उत्कृष्ट विद्यालयको रुपमा रहेको कालिका माविले केही वर्ष यता कक्षा आठ, १० र १२ मा टप गर्दै आएको प्रधानाध्यापक कँडेलको भनाइ छ ।

उनले कक्षा नौमा पाँच सेक्सन रहेको बताए । उनले एक सेक्सनमा ५५ देखि ६० जना विद्यार्थी रहेको जानकारी दिए । विद्यालयले बस सुविधा दिएपछि विद्यार्थीको चाप झनै बढेको उनको भनाइ छ ।

भौतिक पूर्वाधारको र जनशक्तिको क्षमताका आधारमा भर्ना लिने गरेको प्रधानाध्यापक कंडेलले जनाए। नगरपालिकाले नमुना विद्यालयको रुपमा विद्यालयलाई बस लगायत अन्य भौतिक पूर्वाधारमा सहयोग गर्ने गरेको नगरपालिकाले जनाएको छ ।

घोडाघोडी नगरपालिका शिक्षा शाखाका अधिकृत उमेश रेग्मीले घोडाघोडीमा नतिजा राम्रो दिने विद्यालयमा विद्यार्थीको चाप बढेको उल्लेख गर् । उनले नगरपालिका भरि ५१ वटा सामुदायिक विद्यालय रहेको जानकारी दिनुहुँदै पाँच वटा विद्यालयमा विद्यार्थी भर्नाको चाप बढी रहेको उल्लेख गरे । -गोरखापत्र