बैतडीमा गाउँपालिका अध्यक्षद्धारा उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट

बैतडीमा गाउँपालिका अध्यक्षद्धारा उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट

बैतडी । बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेका छन् । स्थानीय कान्धार–देउलेक सडक उपभोक्ता समितिका अध्यक्ष वीरसिंह धामीलाई पालिका अध्यक्ष धामीले कुटपिट गरेका हुन् ।

पालिका अध्यक्षको कुटाइबाट घाइते भएका धामी जिल्ला अस्पताल बैतडीमा भर्ना भएका छन् । पालिका अध्यक्ष धामीले लाठी र लात्ताले कुटपिट गर्दा उनको हात, कम्मर, खुट्टालगायतका ठाउँमा घाउ भएको छ ।

गत मंगलबार वडा नं. ४ मा रहेको उक्त सडकमा उपभोक्ताले काम गरेबापत २० लाख ४४ हजार रकमको चेक दिएको थियो । उक्त चेक साट्न पालिका केन्द्र गर्जेबाट उपभोक्ता समितिका अध्यक्ष धामी बुधबार गाँजरीमा रहेको कृषि विकास बैंक पुगेपछि पालिकाले फिर्ता बोलाएको थियो । उक्त सडकमा पैसा थपेर अर्को चेक काटिदिने भन्दै फिर्ता बोलाएको घाइते धामीले बताए ।

अर्को दिन बिहीबार पालिका गएपछि कर्मचारीहरुसँग बिवाद भएको र त्यही बेला पालिका अध्यक्षले निहुँ खोज्दै कुटपिट गरेको उनले बताए ।

उपभोक्ता समितिले गरेका कामबाट पालिका अध्यक्षले कमिसन मागेको र नपाएपछि कुटपिटमा उत्रिएको पीडितका आफन्तको आरोप छ ।

पालिका अध्यक्ष धामीले भने उपभोक्ता समितिका अध्यक्ष वीरसिंहले मदिरा सेवन गरेर पालिका कर्मचारी र अध्यक्षसँग दुब्र्यवहार गरेको दाबी गरेका छन् ।