धारापानीवासीलाई खानेपानीकै चिन्ता, बर्सातमा खोलाको धमिलो पानी थेग्राएर पिउन बाध्य

धारापानीवासीलाई खानेपानीकै चिन्ता, बर्सातमा खोलाको धमिलो पानी थेग्राएर पिउन बाध्य

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ धारापानी गाउँमा बस्दै आएका साईमले धामीलाई खानेपानी कै चिन्ताले पिरल छ । जेठको बढदो गर्मीसँगै खोलामा पानी सुक्दै गएपछि पानीको जोहो गर्न उनलाई हम्मेहम्मे छ । 

‘गर्मीका बेला खोला सुक्दा पानी खोज्दै जानुपर्छ,’ उनले भने, ‘बर्सातका बेला धमिलो पानी बाध्य भएर पिउनुपर्छ, पानीको अर्को विकल्प नहुँदा ५६ वर्षदेखि खोलाकै पानी प्रयोगमा ल्याउँदै आएका छौं ।’

चुरेफेदीको धारापानी गाउँमा २२ परिवारको बसोवास रहेको छ । विक्रम संवत् २०२४ सालअघिदेखि बस्ती बसेको धारापानी गाउँका वासिन्दाले खानेपानीका रूपमा खोलाको पानी प्रयोग गर्दै आएका छन् ।

खोलाको पानी पिउने, लुगा धुने र गाईवस्तुलाई खुवाउने कार्य हुँदै आएको छ । 

बाध्य भएर धारापानी खोलाको पानी पिउँदै आएको बालाराम गौतमले बताए । ‘गर्मीका बेला चुरे क्षेत्र भएर बग्ने खोला सुक्ने गर्दछन्,’ उनले भने, ‘घरका १ जनाको काम पानी खोज्नमै बित्छ, हिउँदका बेला पानीको त्यति समस्या हुँदैन, बर्सातका बेला खोलाको धमिलो पानी थेग्राएर पिउनुपर्ने बाध्यता छ ।’

असुरक्षित पानी पिउनुपर्ने भएकाले पानीजन्य रोगबाट स्थानीय वासिन्दा बिरामी हुने गरेको उनको भनाइ रहेको छ । खानेपानी आयोजना निर्माणका लागि पटक–पटक सम्बन्धित निकायमा पुगे पनि कार्य अगाडि बढ्न नसकेको उनले बताए ।

‘गत वर्ष वडा कार्यायले खानेपानी आयोजना निर्माणका लागि कार्य अगाडि बढाए पनि गाउँसम्म पानी पुग्न सकेन,’ उनले भने, ‘थोरै बजेटले खानेपानी आयोजना निर्माणको कार्य अधुरो अपुरो रहेको छ ।’ धारापानी गाउँमा विद्युत् पनि पुग्न सकेको छैन । ससाना बालबालिकालाई पढ्नका लागि बालविकास केन्द्र पनि रहेको छैन ।