स्मार्टफोनले बालबालिकाको मानसिक स्वास्थ्यलाई कसरी प्रभावित गर्छ ?

स्मार्टफोनले बालबालिकाको मानसिक स्वास्थ्यलाई कसरी प्रभावित गर्छ ?

कम उमेरमा बच्चालाई स्मार्टफोन वा ट्याबलेट दिँदा उनीहरूको ज्ञानमा वृद्धि हुन्छ वा डिजिटल दुनियाँमा उनीहरूको बुझाई बढ्छ भनेर सोचिरहनुभएको छ भने तपाईं गलत सोचिरहनुभएको छ ।

यो भनाई अमेरिकी गैर–सरकारी संस्था ‘सेपियन ल्याब्स’ को हो । यो संस्था सन् २०१६ देखि मानिसको दिमागलाई बुझ्ने मिसनमा काम गरिरहेको छ ।

कोरोना कालमा बच्चाको पढाई अनलाइनमा सुरु हुँदा बच्चाको मोबाइलमा स्क्रिन टाइम कति हुनुपर्छ भन्ने बहस तीव्र भएको थियो ।

यसका फाइदा र हानीबारे चर्चा हुन थाल्यो । यस्तै सोसल मिडियामा पनि भिडियोको बाढी आयो ।

रिपोर्टमा के भनियो ?

स्यापियन ल्याब्सको ताजा रिपोर्टका अनुसार सानै उमेरमा बालबालिकालाई स्मार्टफोन दिँदा युवावस्था नआउँदै उनीहरूको दिमागमा विपरीत असर देखिन थाल्छ ।

यो रिपोर्ट ४० देशका २,७६,९६९ युवासँग कुराकानी गरेर तयार गरिएको छ र यो सर्वेक्षण यही वर्ष जनवरीदेखि अप्रिल महिनामा गरिएको हो । यसमा ४० देश समावेश छन् ।

यो रिपोर्टमा बताइए अनुसार ७४ प्रतिशत महिला, जसलाई ६ वर्षको उमेरमा स्मार्टफोन दिइएको थियो, उनीहरूलाई युवावस्थामा मानसिक समस्या देखियो ।

एमसिक्यू ९मानसिक स्वास्थ्यको आङ्कलन० मा यी महिलाको स्तर कम रह्यो । जसलाई १० वर्षको उमेरमा स्मार्टफोन दिइयो, तीमध्ये ६१ प्रतिशतको एमसीक्यू स्तर कम वा खराब रह्यो ।

१५ वर्षका ६१ प्रतिशत किशोरीको अवस्था यस्तै रह्यो ।

अर्कोतर्फ १८ वर्ष भइसकेपछि स्मार्टफोन पाएकाहरूको यो सङ्ख्या ४८ प्रतिशत मात्रै रह्यो ।

यस्तै, ६ वर्षका केटाहरूलाई स्मार्टफोन दिँदा ४२ प्रतिशतमा मात्रै एमसीक्यूको स्तरमा कमी देखियो । 

सफदरजंग अस्पतालमा काम गरिसकेका पूर्व मनोचिकित्सक डा पंकजकुमार वर्मा यसको कुनै वैज्ञानिक आधार नभएको र पूर्ण रूपमा बुझ्न नसकेको बताउँछन् ।

यसो हुनुको एउटा कारण केटाको तुलनामा केटीहरूमा किशोरावस्था पहिले नै आउने जसमा मानसिक र शारीरिक परिवर्तनहरू पनि समावेश हुन सक्ने उनले बताए ।

केटीहरू सानै उमेरमा योसँग एक्सपोज हुँदा यो अवस्थामा आउँदा आउँदै केटाहरूको तुलनामा उनीहरू बढी प्रभावित हुन्छन् । 

यस अनुसन्धानमा यो पनि भनिएको छ कि सानै उमेरमा स्मार्टफोन दिएका बालबालिकामा आत्महत्या गर्ने सोच, अरूप्रतिको क्रोध, वास्तविकताबाट टाढा रहनु र भ्रमित हुने समस्या देखिन्छ ।

बालबालिकामा असर

छवि (नाम परिवर्तन गरिएको) को पनि यस्तै कथा छ र उनी दुई छोरीकी आमा हुन् ।

उनी प्रायः घरको काममा व्यस्त रहन्थिन् र छोरीले धेरै नसताओस् भनेर उनले आफ्नी २२ महिनाकी छोरीलाई स्मार्टफोन दिइन् ।

छवि आफ्नी छोरीलाई युट्युबमा कार्टुन राखेर फोन दिन्थिन् र आफू भने घरको काम गरिरहन्थिन् । 

यो सिलसिला जेठी छोरी स्कुलबाट नफर्किएसम्म चलिरहन्थ्यो ।

यद्यपि, छविले कहिल्यै सोचेकी थिइनन् कि छोरीलाई दिइएको स्मार्टफोन उनका लागि समस्याको कारण बन्नेछ ।

मनोवैज्ञानिक डाक्टर पूजा शिवमका अनुसार छविले आफ्नी छोरीलाई लिएर आउँदा उनको विकास उमेर अनुसार थियो, बोल्न पनि राम्रोसँग सक्थिन् तर उनलाई एङ्जाइटीले व्यापक ग्रस्त पारेको थियो ।

उनी भन्छिन्, ‘सातदेखि आठ घण्टासम्म उनी स्मार्टफोन मात्रै हेरेर बस्थिन् । छविले उनलाई युट्युबमा काटुर्न लगाइदिन्थिन् । तर एक पटक सोच्नुहोस् त, उनले युट्युबमा अरू के के हेरिरहेकी थिइन् होला, त्यसको हामीले अन्दाज मात्रै लगाउन सक्छौँ ।’

‘उनी डराइरहन्थिन्, उनलाई एङ्जाइटी हुन्थ्यो । कोही नयाँ व्यक्ति घरमा आउँदा चिच्याउन थाल्थिन्, डराउँथिन् । कुरा नगर्नु र जिद्दी गर्नु, यसमा समावेश थियो । त्यसपछि हामीले उनलाई स्मार्टफोनबाट टाढै राख्यौँ र त्यसपछि काउन्सिलिङ सुरु गरियो ।’

आजकल अभिभावकहरूले सानै उमेरमा बच्चाको हातमा प्यासिफायर ९निप्पल, शिल्ज र ह्यान्डल० को रूपमा फोन दिने गरेको विज्ञहरू बताउँछन् ।

बालबालिकाको दिमागमा असर

मनोवैज्ञानिकका अनुसार हाम्रो दिमागमा विभिन्न हजार चिज सिग्नलको रूपमा पुगिरहेको हुन्छ । 

जब कसैले स्मार्टफोन प्रयोग गर्छ, उसले भिडियो र अडियो पाइरहेको हुन्छ, त्यसै गरी केही यस्ता कुराहरू पनि दिमागमा प्रवेश गरिरहेका हुन्छन्, जसले उसमा उत्साह र जिज्ञासा पैदा गर्छ । र यसले चुम्बक जस्तै काम गर्दछ ।

त्यसो भए अब सोच्नुहोस् कि जब बच्चाले यस्तो खालको एक्सपोजर पाउँछन्, तब के हुन्छ ?

डा. पंकज कुमार वर्माले रिजुभेनेट माइन्ड क्लिनिक पनि चलाउँछन् । 

यो प्रश्नको जवाफ दिँदै उनी भन्छन्, ‘कोरोनाको समयमा पनि बालबालिकामा स्क्रिन टाइम बढेर, घर भित्र बन्द हुँदा उनीहरू चिडचिडे भए । साथै एङ्जाइटी र डिप्रेसनको सिकार पनि भए ।’

उनी थप्छन्, ‘साना बच्चाहरूमा मस्तिष्कको विकास भइरहेको हुन्छ । उनीहरूलाई थाहै हुँदैन कि उनीहरुले जे हेरिरहेका छन्, त्यो उनीहरूका लागि राम्रो छ कि नराम्रो । अर्को कुरा के हो भने यदि उनीहरू कुनै कार्टुन हेरेर मज्जा लिइरहेका छन् भने दिमागले एउटा केमिकल रिलिज गर्छ, जसको नाम हो डोपामाइन । यसले उनीहरूलाई खुसी बनाउँछ ।’

डिजिटल एक्सपोजरले बालबालिकालाई एक किसिमले यसको लतमा पारेको छ । यसको असर यो पनि हुन्छ कि उनीहरुले पढ्ने, खेल्ने र साथीहरूसँग घुम्ने–डुल्ने उमेरमा ती सबै बिर्सेर स्मार्टफोनमा मात्रै रमाइरहेका हुन्छन् जसले उनीहरूलाई डोपामाइन दिन्छ । यसरी उनीहरू एक बनावटी दुनियाँमा बाँचिरहेका हुन्छन् ।

यस्तोमा उनीहरू डर, असमञ्जस, एङ्जाइटीजस्तो मनस्थितिले घेरिएका हुन्छन् जसको पछिसम्म असर रहन्छ । 

के गर्ने ?

प्रविधिको दुई वटा पाटा हुने जानकारको मान्यता छ । एकातिर यो जानकारीको एउटा ठुलो स्रोत हुनसक्छ भने अर्कोतर्फ यसको दुष्परिणाम पनि छन् । यस्तोमा यसको सन्तुलित प्रयोग हुनु अत्यन्त जरुरी छ । 

जानकार अभिभावकलाई यस्तो सल्लाह दिन्छन्:

– साना बालबालिकालाई स्मार्टफोनबाट टाढा राख्नुहोस्

– बालबालिकालाई स्मार्टफोन वा ट्याबलेट दिने उमेर निश्चित गर्नुहोस्

– यदि बच्चाले आफ्ना साथीहरूसँग स्मार्टफोन छ भनेर तर्क दिन्छन् भने उनीहरूसँग कुरा गर्नुहोस् र सम्झाउनुहोस्

– यदि बच्चालाई पढाइका लागि मोबाइल चाहिन्छ भने स्क्रिन टाइमलाई नियन्त्रित गर्नुहोस्

– स्कुलको असाइनमेन्ट अनलाइनमा दिइन्छ भने तपाईंले एउटा प्रिन्टर किन्नुहोस् किनभने यो बच्चामाथि हुने क्षतिभन्दा सस्तो हुनेछ ।

यो प्रतिवेदनमा भनिएको छ कि बालबालिकाले जति ढिला स्मार्टफोन पाउँछन्, उनीहरूको मानसिक स्वास्थ्यमा त्यति नै कम असर पर्छ । 

बीबीसी