आजदेखि गोसाइँकुण्डमा विशेष मेला

आजदेखि गोसाइँकुण्डमा विशेष मेला

काठमाडौँ । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला  सुरूआत भएको छ ।

गङ्गा दशहरा पर्वअन्तर्गत  आरम्भ  भएको  १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन्  । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । गोसाइँकुण्ड मेलाको पहिलो दिन आज तीर्थ पुग्ने भक्तजनले दिनभरिनै कुण्डमा स्नान तथा विशेष पूजा गर्ने गर्दछन् ।

समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान् शिव निलाद्रि पर्वत पुगेको धार्मिक मान्यता रहेको छ । 

स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल ९टङ्कु गुरु० ले उत्तरगया धाम बेत्रावती पुगेर स्नान तथा गङ्गा पूजन गरी गोसाइँकुण्ड जानुपर्ने, चोलाङ पाटीमाथि बाटोमा ढुङ्गा राखेर घर बनाउने र लौरी विनायकमा लौरी चढाइ गोसाइँकुण्ड जानुपर्ने, कुण्डमा भगवान्को दर्शन गरी फर्किदा ल्याएको जल धैबुङस्थित कालिका मन्दिरमा चढाएर घर जाँदा  पुण्य मिल्ने मान्यता रहेको बताए । 

आज पहिलो दिन करिब पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने र भक्तजनको आउनेक्रम जारी रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए ।

दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी प्रत्येक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने परम्परा रहिआएको छ । यस वर्षको गङ्गा दशहरा पर्वमा पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने प्रक्षेपण गरिएको जनाउँदै लाङटाङ राष्ट्रिय निकुञ्जले सबै यात्रुको सङ्ख्यात्मकरूपमा लगत राखिने जनाएको छ ।