यी हुन् हिमालय रोडिज सिजन ५ का ग्याङ लिडर, छायांकन अर्को सातादेखि

यी हुन् हिमालय रोडिज सिजन ५ का ग्याङ लिडर, छायांकन अर्को सातादेखि

काठमाडौं । टिभी रियालिटी शो ‘हिमालय रोडिज’ सिजन ५ ले ग्याङ लिडर प्राप्त गरेको छ । निर्णायकको भूमिकामा रहने चार ग्याङ लिडरले सम्बन्धित समूहको नेतृत्व गर्नेछन् । हिमालय रोडिजले यसबारे औपचारिक जानकारी दिंदै ग्याङ लिडरबारे खुलाएको छ ।

जसअनुसार दीया मास्केले ‘टिम एल्लो’ ग्याङको नेतृत्व गर्नेछिन् भने आशिष राना ‘लाउरे’ले ‘टिम ग्रीन’को ग्याङलाई प्रतिनिधित्व गर्नेछन् । अनुपविक्रम शाहीले ‘टिम रेड’ र प्रियंका कार्कीले ‘टिम ब्लु’ सम्हाल्नेछन् । चिन्न र प्रतिस्पर्धा गर्न सजिलो होस् भनेर रङको आधारमा ग्याङ विभाजन गरिएको हो ।

एउटा ग्याङमा चारजना गरेर कुल १६ जनाले शोमा प्रतिस्पर्धा गर्नेछन् । आगामी सातादेखि छायांकन सुरु हुने रोडिजको यो सिजनलाई लैंगिक रुपमा समावेशी बनाइएको छ । जसअनुसार नै शोको थिम नै ‘पावर अफ फाइभ’ तय गरिएको छ । ‘पुरुष र महिलाको समान उपस्थिति यसपटक छ । यसले समानताको सन्देश दिन्छ,’ ग्याङ लिडर तथा अभिनेता शाहीले अनलाइनखबरसँग भने ।

काठमाडौं र मोफसलका विभिन्न जिल्लामा छायांकन गरिने रोडिजको पाँचौं सिजनलाई टिभी पर्सनालिटी सुरजसिंह ठकुरीले होस्ट गर्दैछन् । पाँचौं सिजनलाई लिएर उत्साहित हुँदै शाहीले भने, ‘रोडिज सधैं सरप्राइज हुन्छ र अनपेक्षित पनि । के हुन्छ हामीलाई पनि थाहा हुँदैन । फम्र्याट र टास्क अचानक हुन्छ,’ उनले भने ।


यो सिजनलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन् । एक्सन फिल्म निर्देशकको रुपमा चर्चित सिमोसकै जनराअनुसारको यो टिभी कार्यक्रम थप रोचक हुने अनुमान गरिएको छ । निर्देशक सुनुवारले शो चुनौतीपूर्ण हुने भए पनि दर्शकलाई मनोरञ्जन दिन आफूहरु लागिपर्ने बताए । यो कार्यक्रम हिमालय एचडीमा प्रसारण हुनेछ ।