१० लाखमा ‘वरिष्ठ बलराम’बाट डेब्यू गर्दै दीलिपकी छोरी दिव्या

१० लाखमा ‘वरिष्ठ बलराम’बाट डेब्यू गर्दै दीलिपकी छोरी दिव्या

अन्ततः चर्चित अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले नेपाली फिल्ममा आफ्नो करिअर सुरु गर्ने भएकी छन् । लामो समयदेखि परिवारसँग अमेरिकामा बस्दै आएकी उनले सुरेन्द्र पौडेलको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘वरिष्ठ बलराम’बाट डेब्यू गर्न लागेकी हुन् । यही फिल्मका लागि उनी आगामी एकरडेढ महिनाभित्रमा नेपाल आउँदैछिन् ।

उनी नेपाल आएपछि निर्माण टिमसँग कागजी सम्झौता हुने बताइएको छ । उनी केही महिना अभिनयको कोर्स पनि गर्ने योजनामा छिन् । सम्भवतः आगामी दशैंपछि छायांकनमा जाने फिल्ममा दिव्याले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा अभिनय गर्नेछिन् । फिल्मको पटकथा खगेन्द्र स्वयंले तयार पारेका हुन् । दिव्या र खगेन्द्रको जोडी पर्दामा हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ ।

यो फिल्मका लागि निर्माण टिमले दिव्यालाई १० लाख पारिश्रमिक दिँदैछ । निर्माता अधिकारी स्वयंले यो कुरा स्वीकार गरे । ‘उहाँले अमेरिकामै राम्रो तलब(सुविधामा काम गर्दै आइरहनु भएको रहेछ । त्यसको तुलनामा १० लाख धेरै कम हो । उहाँले पारिश्रमिक डिमान्ड गर्नुभएको पनि होइन । यति दिँदा राम्रै होला भनेर हामीले नै प्रस्ताव राखेका थियौं । उहाँ पनि तयार हुनुभयो,’ उनले भने ।

लामो समयदेखि दिव्याको सुन्दरतालाई लिएर मिडियामा चर्चा भैरहेको छ । उनलाई धेरै फिल्मबाट अफर पनि पुगेको थियो । तर, उनले अध्ययनका कारण अफर नकार्दै आइरहेकी थिइन् । ‘वरिष्ठ बलराम’को टिम र आफ्नो चरित्र मन परेपछि भने उनी काम गर्न तयार भएकी हुन् । ‘इन्फो टिच प्रोजेक्ट म्यानेजमेन्ट’मा मास्टर्स पूरा गरेकी उनी अमेरिकामा आइटी क्षेत्रमा काम गरिरहेकी छिन् ।

यस वर्ष तीन फिल्म निर्माणको तयारीमा रोहित

रोहित अधिकारी ‘वरिष्ठ बलराम’सहित यस वर्ष तीन फिल्म निर्माणको तयारीमा छन् । उनले एउटा फिल्म ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालसँग मिलेर निर्माण गर्दैछन् । त्यस्तै, उनले दीपकराज गिरी समुहसँग मिलेर पनि एउटा फिल्म निर्माणको तयारी गरिरहेका छन् । यस अगाडि उनले ‘गाजलु’ र ‘छ माया छपक्कै’ गरी दुईवटा ब्लकबस्टर फिल्म निर्माण गरिसकेका छन् ।