सुत्केरी मृत्युमा अस्पताल दोषी हो झै स्थापित गर्न खोजियोः निसर्ग अस्पताल

सुत्केरी मृत्युमा अस्पताल दोषी हो झै स्थापित गर्न खोजियोः निसर्ग अस्पताल

धनगढी । कैलालीको धनगढीस्थित निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिले अस्पतालमा एक सातामा दुई सुत्केरी महिलाको मृत्यु भन्ने खबरमा कुनै सत्यतथ्य नरहेको प्रष्टिकरण पारेको छ ।

कञ्चनपुरबाट संचालित समाचार पोर्टल मानसखण्डले ‘आमा मार्ने अस्पताल नै हो त धनगढीको निसर्ग अस्पताल ?’ शिर्षकमा समाचार प्रकाशन भएपछि अस्पतालमा कुनै पनि सुत्केरी महिलाको मृत्यु नभएको सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

समाचारमा उल्लेखित गौरिगंगाकी हिरा चौधरी उच्च रक्तचापकाकारण राती अस्पतालको आक्समिकमा आउँदा प्रारम्भिक उपचार गराएर फर्केकी र सरला सिलाधर मृटुको समस्याका कारण घरमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक चौधरी सेति प्रादेशिक अस्पतालमा उपचाररत थिइन भने तुलाधर मुटुको समस्या ठिक नहुने भएपछि उपचारपश्चात घर फर्केको अस्पतालका कार्यकारी अध्यक्ष तिर्थराज पन्तले बताए । उनले भने –‘गोरखापत्रको समाचारलाई साभार गरेर नियमित उपचारका लागि आउनुलाईनै अस्पताल दोषी हो झै स्थापित गर्न सञ्चार माध्यमले खोजेको छ । विरामी अस्पतालमा उपचारका लागि आएकै भरमा अस्पतालको शाखा र विश्वसनियतामा आँच आउने गरी समाचार प्रस्तुत गरिनु पत्रकारिताको मर्मविपरित हो ।’

उनका अनुसार तुलाधर मुटुको समस्याबाट काठमाडौंको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत थिइन् । वैशाख ३० गते उनी निसर्गमा उपचार गराएर घर फर्केकी थिइन भने वैशाख २१ गते अस्पतालको आक्समिक उपचार गराएकी चौधरी सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन् ।