फोहोरमैला व्यवस्थापनमा मनोमानि शूल्क असुलि गर्ने मातृभुमि संरक्षण प्रालिसंगको सम्झौता रद्द

फोहोरमैला व्यवस्थापनमा मनोमानि शूल्क असुलि  गर्ने  मातृभुमि संरक्षण प्रालिसंगको सम्झौता रद्द

धनगढी । धनगढी उपमहानगरपालिकाले मातृभुमि संरक्षण प्रालिसंगको सम्झौता रद्द गरेको छ ।
आइतबार बसेको २० औं बैठकमा नियमविपरित र मनोमानी ढंगले फोहोरमैला संकलनमा रकम असुल गरेको पाइएपछि सो सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले नीजि–सरकारी साझेदारीमार्फत उपमहानगरपालिकाको फोहोर व्यवस्थापन कार्य अघि बढाउँदै सो संस्थालाई जिम्मेवारी दिएको थियो । संस्थाले उपमहानगरपालिकाको आर्थिक ऐन २०७९ विपरित जथाभावी रकम संकलन गरेको पाएपछि स्पष्टिकरण सोध्दा चित्तबुझ्दो जवाफ नदिएपछि सम्झौता रद्द गरेको बैठकमा जानकारी दिइएको थियो ।

सो संस्थाले बैशाखमा मात्र उपमहानगरपालिकाको ठेली प्रयोग नगरि ३४ हजार बढी रकम संकलन गरेको पाइएको जनाइएको छ । 

‘संस्थासंग ठेक्का बदर गरिएको छ । पाँच लाख धरौटी जफत गरिने छ’ नगर प्रमुख हमालले भने ‘सो संस्थासंग ठेक्का होइन । कमिसन दिने सर्तमा फोहोर संकलन गराइएको थियो । केही वडामा सर्त अनुसार काम गरेको भएपनि केही वडामा सर्तविपरित मनोमानी कार्य गरेको पाइएको हो ।’

उपमहानगरपालिकाको १७ औं कार्यपालिका बैठकले फोहोरमैलालाई आन्तरिक आयसंग आवद्ध गराउन नीजि क्षेत्र, संघ संस्था वा कम्पनि (संकलनकर्ता) लाई संकलन गर्ने जिम्मेवारी दिने निर्णय गरेको थियो । कार्यपालिका बैठकको निर्णयमा भनिएको छ –‘संकलनकर्तालाई संकलित रकमको २० प्रतिशत लाभांश दिने गरी सरसफाई शूल्क संकलन गर्न सूचना प्रकाशित गरि कार्य अगाडि बढाउने र उक्त कार्य शुरु नहुन्जेल  शूल्क संकलन गर्दा संकलन कार्यमा खटिएका कर्मचारीलाई संकलित रकमको १० प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरियो ।’ उपमहानगरपालिकाले फागुन महिनामा कम्पनिसंग सम्झौता गरि कम्पनिले चैत महिनादेखि फोहोर संकलनसंगै शूल्क संकलन कार्य अघि बढाएको हो ।

उपमहानगरपालिकाले जारी गरेको सूचनामा अनुसार –‘माघ १० गते गरेको कार्यपालिकाको निर्णय अनुसार वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र १३ को फोहोर मैला व्यवस्थापन सेवा शूल्क उठाई उपमहानगरपालिकाको खातामा जम्मा गर्ने कार्यका लागि मातृभुमि संरक्षण प्रलि काठमाडौंसंग सम्झौता गरिएको हुँदा उक्त फर्मले चैत ९ गतेदेखि सेवा शूल्क लिन शूरु गरिसकेकाले तोकेबमोजिम सेवा शूल्क दिई सहयोग गरिदिन अनुरोध गरिएको थियो ।’

सो संस्थालाई चैतमा स्पष्टिकरण सोधिएको थियो । तर, कार्यालयलाई चित्तबुझ्दो जवाफ नदिइ पुनः वैशाखमा फोहोरमैला व्यवस्थापनमा रकम संकलन कार्य जारी गरेको थियो ।

नीजि संस्थासंग सम्झौत रद्द भएसंगै उपमहानगरपालिकाले दुई महिना सामाजिक परिचालकबाट सो वडामा फोहोर संकलन गराउने निर्णय गरेको छ ।  नगर प्रमुख हमालले सामाजिक परिचालकबाट फोहोर संकलन गराउने सहमति भएको बताए ।