सुदूरपश्चिम अर्थमन्त्रालयले गर्‍यो आगामी बजेटका लागि सुझाव आह्वान

सुदूरपश्चिम अर्थमन्त्रालयले गर्‍यो आगामी बजेटका लागि सुझाव आह्वान

धनगढी । सुदूरपश्चिम सरकारले आगामी बजेटका लागि सार्वजनिक सुझाव आह्वान गरेको छ। सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्रालयले सूचना जारी गर्दै सुझाव आह्वान गरेको हो।

संघीय संरचनामा बीचको भूमिकामा रहेको प्रदेश सरकारका बजेट जनतासँग प्रत्यक्ष नजोडिएको गुनासो आइरहेका बेला आर्थिक मामिलामन्त्री नरेश शाहीले उक्त पहल गरेका हुन्।

यसअघि उनले स्थानीय सरकारका आवश्यकतामा प्रदेश सरकारले बल पुर्‍याउने गरी बजेट निर्माण गर्नेगरी समन्वय गरेका छन्। स्थानीय सरकारबाट बजेटका लागि आयोजना सिफारिस गराइएको छ।

त्यसपछि सार्वजनिक रुपमा सुझाव मागिएको हो। ‘बजेटलाई आमजनको आवश्यकता र चाहनासँग जोड्नका लागि हामीले सूचना प्रकाशित गरेका छौं। ती सुझावलाई मनन गरेर बजेट बनाउनेछौं,’ मन्त्री शाहीले भने।

सुझावहरू आगामी २०८० जेठ १० गतेभित्र मन्त्रालयमा  वा अनलाइनमार्फत् उपलब्ध गराउने सकिने बताइएको छ। अनलाइनमा सुझावहरू पठाउन मन्त्रालयको वेवसाइट www.moeap.sudurpashchim.gov.np को ‘बजेट सुझाव’ मेनुमार्फत् वा मन्त्रालयको इमेल [email protected] मा समेत पठाउन सकिने बताइएको छ।