गाउँमै बाली उपचार शिविर

गाउँमै बाली उपचार शिविर

बैतडी : बैतडीको पाटन नगरपालिका- ९ का किसान आलुमा पछौटे डढुवा रोग लागेर हैरान भएका बेला गाउँमै कृषि प्राविधिक पुगेपछि उनीहरुलाई राहत भएको छ। गाउँमै बाली उपचार शिविर सञ्चालन गरेर कृषि प्राविधिकले दिएको सुझावअनुसार किसान आफ्नो बारीका आलु जोगाउने  लागेका छन्।

'आलुमा पछौटे डढुवा लागेर हैरान भएका थियौं। गाउँमै बाली उपचार शिविर आएपछि हामीलाई धेरै फाइदा भयो। 'जैविक विषादीको प्रयोग गरेर रोग नियन्त्रणका उपायका बारेमा जानकारी पायौं,' किसान जयन्ती बिजलेले भनिन्,' गाउँमै बाली शिविर सञ्चालन हुँदा धेरै कुराको ज्ञान भयो।'

बारीमा लगाएको तरकारीमा विभिन्न रोगकीरा लागेकै अवस्थामा गाउँमै बाली उपचार शिविर सञ्चालनमा आएपछि सहज भएको पाटन नगरपालिका- ९ की किसान धान भण्डारीले बताइन्।उनले गाउँमै कृषि प्राविधिक आएर हाम्रो बालीमा लागेको रोगकीराका बारेमा सोधपुछ गरी उपचार पद्दतिका बारेमा जानकारी दिँदा धेरै राहत मिलेको बताइन्।

जिल्लाको दशरथचन्द नगरपालिका- १ गुरुखोलामा पनि बाली उपचार शिविरमार्फत किसानले सेवा लिएका छन्। शिविरमा ३३ जना किसानका विभिन्न बालीमा लागेको रोगकीराको निदानका विषयमा जानकारी प्राप्त भएको अगुवा किसान देवदत्त भट्टले बताए। 

कृषि ज्ञान केन्द्र बैतडीको आयोजनामा जिल्लाका दुई ठाउँमा बाली उपचार शिविर सञ्चालन गरिएको हो। दशरथचन्द नगरपालिका १ को गुरुखोला र पाटन नगरपालिकाको वडा नं ९मा बाली उपचार शिविर सञ्चालन गरिएको शिविरमा सहभागी मकै जोन कार्यालय बैतडीका जेटीए महेश अवस्थीले बताए। उनले शिविरमा किसानलाई परेका समस्या, बालीमा लागेको रोगकीराको उपचार, जैविक विषादीको प्रयोगलगायतका विषयमा जानकारी दिइएको बताए।

गाउँमै गएर किसानको समस्यालाई समाधान गर्न बाली उपचार शिविर सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। उनले बैतडीका दुई ठाउँमा बाली उपचार शिविर सञ्चालन गरेको र आगामी वर्षमा पनि  शिविर संचालन गर्ने बताए।

गाउँमा बाली उपचार शिविरबाट सेवा पाउँदा खुसी लागेको दशरथचन्द नगरपालिका १ किसान कृष्णदत्त भट्टले बताए। उनले भने, 'तरकारी बालीमा विभिन्न रोगकीराको प्रकोप देखिएको थियो। सबै किसानले एकै ठाउँबाट रोगकीराको रोकथाप, उपचारलगायतका विषयमा जानकारी पायौं।'

शिविरमा जैविक विषादीको प्रकोप, बत्ती पासोलगायतका प्रविधिका बारेमा जानकारी दिएको शिविरमा सहभागी मकै जोन कार्यालय बैतडीका जेटीए महेश अवस्थीले बताए।