पलको स्पष्टीकरण ‘मेरो कथामा भिडियो बनाएको होइन’

पलको स्पष्टीकरण ‘मेरो कथामा भिडियो बनाएको होइन’

जेलमुक्त भएपछि अभिनेता पल शाहको पहिलो म्यूजिक भिडियो बिहीबार सार्वजनिक भयो । ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सनबाट उनको म्यूजिक भिडियोमा कमब्याक भएको हो । यसमा उनकै निर्माण, निर्देशन र अभिनय छ । भिडियोमा एक पात्रको जेल जीवनदेखि रिहाइसम्मको घटनालाई देखाइएको छ । जसले गर्दा पलले आफ्नै कथामा भिडियो बनाएको टिप्पणी भैरहेको छ ।

भिडियोमा प्रहरीले पललाई हतकडी लगाएर सरकारी वकिलको कार्यालय लगेको दृश्य समावेश छ, जहाँ पलले कालो मास्क, खैरो क्याप, निलो रंगको ज्याकेट र खैरो रंगको हुडी लगाएका छन् । यही पहिरनमा उनी करिब एक वर्ष अगाडि पहिलो पटक तनहुँ जिल्ला अदालतमा उपस्थित भएका थिए । यसबाट पनि म्यूजिक भिडियोमा देखाइएको कथा पलको आफ्नै रहेको बुझ्न सकिन्छ ।

तर, पलले भिडियोमा प्रस्तुत गरिएको कथा आफ्नो नरहेको बताएका छन् । शुक्रबार एक अवार्ड कार्यक्रममा सहभागी हुने क्रममा उनले भने, ‘यो मेरो कथा होइन । २८ हजार कैदी बन्दीको कथा हो । उहाँहरुको परिवार छ । उहाँहरुकै लागि मैले यो भिडियो बनाएको हुँ ।’ कैदी बन्दीको परिवारको आँखाबाट म्यूजिक भिडियो बनाएकाले कथा अधुरो नरहेको पनि उनले स्पष्ट पारेका छन् ।

जेलबाट निस्केपछि पलले म्यूजिक भिडियो मात्रै गरिरहेका छन् । उनलाई धेरै फिल्मबाट अफर आए पनि अहिलेसम्म कुनै सम्झौता गरेका छैनन् । उनले अहिले आफूले स्क्रिप्ट हेरिरहेको र चाँडै नै फिल्ममा काम गर्न सक्ने बताएका छन् । ‘दुई(तीनवटा टिमसँग मिटिङ भैरहेको छ । सबैको अप्रोच राम्रो छ । तर, मैले निर्णय दिन सकिरहेको छैन । केही दिनमा निर्णय लिन सक्छु,’ उनले भने ।