एकसाथ स्टेज चढे, तर खुलेर बोलेनन् पल र पूजा

एकसाथ स्टेज चढे, तर खुलेर बोलेनन् पल र पूजा

शुक्रबार आयोजना भएको ‘सिने सर्कल अवार्ड’मा वि।सं २०७८ सालमा रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’बाट नायक पल शाह र नायिका पूजा शर्माले ‘बेष्ट पर्दाको जोडी’को अवार्ड प्राप्त गरे । यो अवार्ड घोषणा भैरहँदा नायक पल शाह हलमा थिए । तर, पूजा शर्मा कार्यक्रम स्थलमा आइपुगेकी थिइनन् । यसैले, पलले एक्लै स्टेजमा गएर यो अवार्ड थापे । 

यसको केही मिनेटपछि पूजा शर्मा हलमा प्रवेश गरिन् । सायद, पूजा आएको थाहा पाएर हुनसक्छ कार्यक्रम संचालक तथा आयोजक दिनेश डीसीले यही अवार्ड प्रदान गर्न पूजालाई फेरि स्टेजमा बोलाए । उनले, पूजासँग पललाई पनि स्टेजमा बोलाएका थिए । 

स्टेज नजिक भएकाले पल स्टेजमा पुगे र पूजालाई पर्खिए । पूजा केही समयपछि स्टेजमा चढिन् । सो समयमा पूजा र पलको खासै बोलचाल भएन । पाठकलाई जानकारी गराऔं कि, जेलबाट निस्किएको साढे २ महिनापछि पहिलो पटक पूजा र पल आमुन्ने सामुन्ने भएका थिए । 

पूजाले अवार्ड ग्रहण गरिन् । पलले पहिले नै अवार्ड लिइसकेका थिए । त्यसपछि, पूजाले पललाई तानिन् र स्टेजको केही अगाडिको भागमा लगिन् । दुबै जनाले क्यामेरातिर फर्किएर अवार्ड देखाए । तर, उनीहरुबिच त्यस्तो कुनै गफगाफ भएको वा दुबैले एक अर्काको अनुहारमा हेरेर खुशी साटेको देखिएन । यसपछि, दुबै जना स्टेजबाट फर्किएर आफू बसेको स्थानमा गएका थिए । 

अवार्ड सकिएपछि मिडियाकर्मीसँग कुराकानी गर्ने क्रममा पनि पूजाले पलसँग ‘हाई हेल्लो’ मात्र भएको बताएकी थिइन् । 

जेलबाट निस्किएपछि पल र पूजाको सम्बन्धमा तिक्तता आएको भन्ने खालका खबर सार्वजनिक भैरहेको समयमा एकसाथ स्टेज चढेर पनि यी दुई बेष्ट पर्दाका जोडीले खुलेर खुशी साट्न सकेनन् । यसले, यी दुइबिच राम्रै खटपट भएको वुझ्न सकिन्छ ।