सुदूरपश्चिम प्रदेश सभा बैठकको अझै टुङ्गो लागेन

सुदूरपश्चिम प्रदेश सभा बैठकको अझै टुङ्गो लागेन

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठकको अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेश सरकारले पूर्णता पाउनमा ढिलाइ हुँदा त्यसको असर प्रदेश सभामा समेत परेको छ । 

यसअघि, मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन फागुन २१ गते प्रदेश सभाको बैठक सञ्चालन भएको थियो । त्यसपछि अनिश्चित समयका लागि स्थगन भएको बैठक बस्न सकेको छैन । अघिल्लो बैठक बसेको पनि दुई महिनाभन्दा बढी समय बितिसकेको छ । 

प्रदेश सभाले बजेट अधिवेसनको तयारी गर्ने बेलामा सुदूरपश्चिम प्रदेश सभाको अहिलेसम्म पहिलो अर्थात हिउँदे अधिवेसन नै समापन भएको छैन । बैठकको टुङ्गो लागेपछि पहिलो अधिवेसन एक दुई दिनभित्रै टुङ्ग्याएर अर्को अधिवेशन आह्वान गर्नुपर्ने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए । प्रदेश सभा सञ्चालनका लागि सचिवालयमा विजनेस पनि पर्याप्त मात्रामा नरहेको र अहिलेसम्म एउटा संशोधन विधेयक मात्रै सचिवालयमा दर्ता हुन आएको उनले बताए ।

सरकारका प्रवक्तासमेत रहनु भएका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले मन्त्रीपरिषद् विस्तारपछि प्रदेश सभाको बैठक सञ्चालन हुने बताए । लामो समयसम्म प्रदेश सभाको बैठक सञ्चालन हुन नसक्दा सचिवालय फूर्सदिलो भएको छ ।