अर्घाखाँचीमा ४ जनाको सामूहिक दाहसंस्कार

अर्घाखाँचीमा ४ जनाको सामूहिक दाहसंस्कार

अर्घाखाँची । आगोले जलेर ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको ढाकाबांगका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।

खाकाबेसीको बघमारे घाटमा चार जनाको सामूहिक दाहसंस्कार गरिएको भूमिकास्थान–१ का वडाध्यक्ष गोपाल खनालले बताउनुभयो । ढाकाबांगमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा ज्यान गएपछि गाउँ नै शोकमा छ । 

गएको मङ्गलवार दिउँसो भूमिकास्थान–२ तिरतिरे गाउँमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका वेल्वासे टोलका चारै जनाको उपचारका क्रममा ज्यान गएको हो । आगलागीका घाइतेहरूलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाण्डौ रिफर गरिएकोमा उपचारका क्रममा काठमाण्डौमा ज्यान गएको थियो । आगलागीमा ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे र ३६ वर्षीय माधव बेल्वासेको ज्यान गएको हो । 

आगलागीमा परेर घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको अवस्था सुधार भइरहेको छ । उनकोपाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।