आगलागीबाट २६ लाख बराबरको क्षति

आगलागीबाट २६ लाख बराबरको क्षति

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ हाडेबास ध्वाँसेमा बिहीबार भएको आगलागीबाट करिब २६ लाखको धनमाल जलेर नष्ट भएको छ।

बिहान ९ बजे कृषि मिटरको विद्युत सर्ट भई आगलागी हुँदा २५ लाख ८२ हजार बराबरको धनमाल जलेर नष्ट भएको हो। 

आगलागीबाट स्थानीय चोकबहादुर मगरको फुसको छानो भएको दुई तल्ले घर, टिनको छानो भएको कृषि फर्मको पाँचवटा टहरा, भाई चित्रबहादुर मगर फुसको छानो भएको घर, ग्वाली जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए। 

घटना लगत्तै पुगेको त्रियुगा, चौदण्डिगढी नगरपालिका र रौतामाई गाउँपालिकाको तीनवटा दमकल र स्थानीयको सहायतामा जिल्ला प्रहरी कार्यालय, अस्थायी प्रहरी पोष्ट चुहाडे, नेपालटारबाट खटिएको प्रहरीको टोलीले तीन घण्टापछि नियन्त्रणमा लिएको उनले बताए। 

आगलागीबाट चोकबहादुरले सञ्चालन गरेको सरस्वती फुलवारी पशुपालन कृषि फर्म, त्यस भित्र रहेको २ वटा सुंगुर, चाँदी ५ तोला, सुन आधा तोला, भाँडा, लत्ताकपडा, नगद ९० हजार गरी  २४ लाख ३२ हजार र चित्रबहादुरको एक लाख ५० हजार बराबरको क्षति भएको एसपी फुयाँलले बताए।