टहरा हट्यो, बसोबास हटेन

टहरा हट्यो, बसोबास हटेन

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडास्थित सामुदायिक वनमा माटोको घर (टहरा) बनाएर तीन वर्षदेखि बस्दै आएकी थिइन् अम्बिका ताम्राकार । उमेरले ८० पुगेकी उनी बस्दै आएको टहरामा वैशाख १८ गते डोजर चल्यो । जिविकोपार्जनका लागि डडेल्धुराबाट सन्तानसहित कैलाली पुगेकी उनी अहिले घरबारविहिन बनेकी छिन् । उनलाई सो स्थानमा कसले बसोबास गर्न पठायो भन्नेबारे प्रतिक्रिया दिइनन् ।

रुखको छहारीमा महिलाहरुको समुहबिच भेटिएकी अम्बिका भन्दै थिइन् –‘कोभिड महामारीले वेरोजगार बनायो । घरजग्गा नभएपछि यहि आएर बसेको थिए । सरकारले व्यवस्थापन नगरि बस्दै आएको टहरा भत्कायो । घरजग्गा नभएपछि कहिले कतै त कहिले कतै भौतारीनुपर्ने अवस्था रहेको छ ।’

सोही  वनमा टहरा बनाएर बसेकी थिइन समुन्द्रा देवी लुहार । उनीपनि तीन वर्षअघिदेखिमात्र सो क्षेत्रमा बसोबास गर्न लागेकी हुन् । उनी भन्छन् –‘घर जग्गा केही नभएपछि तराई झरे । यहि बसोबास गर्न भनी टहरा बनाएको थिए । यसलाई पनि सरकारले भत्कायो । अब कहाँ गएर बस्ने होला ?

दार्चुलाको मालीकार्जुन गाउँपालिका मौपालिकी जानकी पार्की पहिरो पीडित हुन् । पहिरोले घरबारबिहिन बनेपछि तीन वर्षअघि तराइ झर्दै चौकीडाँडा वनमा माटोको घर बनाएर बसेकी थिइन् । 

जानकी, अम्बिका र समुन्द्राजस्तै जिविकोपार्जन, पहिरोपीडित लगायत विविध कारणले तीन वर्षयता चौकीडाँडा सामुदायिक वनमा अतिक्रमण बढ्दै गएको थियो । तीन वर्षअघि सो सामुदायिक वनमा तीन वटा घर टहरा थिए । डिभिजन वन कार्यालयले पटक–पटक ती घरहरु भत्काउने काम गरिरहेको थियो ।

कोभिड महामारीका कारण वन कार्यालयको अतिक्रमण हटाउने अभियान प्रभावित बन्दा अहिले सो सामुदायिक वनमा दुई सय बढी घर टहरा बनेका थिए । सो वनमा अतिक्रमण बढ्दै गएपछि गत सोमबार (वैशाख १८ गते) सव डिभिजन वन कार्यालय मालाखेती र डिभिजन वन कार्यालय धनगढीले संयूक्त रुपमा डोजर चलायो ।

घर टहरा डोजरले भत्काएपछि विस्थापित घरपरिवारहरु सडकको छेउमा त्रिपाल, प्लाष्टिक लगायतको छानो बनाएर बसोबास गर्दै आएका छन् । उनीहरु दिनभरी रुखको छहारीमा समुह बनाई एकअर्कासंग दुःख–सुःखका कुराकानी गर्दै बस्छन् । राती त्रिपाल र प्लाष्टिकले बनाएको छानोमुनि सुत्छन् ।

पछिल्लो समय सुकुम्बासी, पहिरोपीडित, संघ–संस्था, मन्दिर, सरकारी संरचना बनाउने लगायतका कारण कैलालीका वन अतिक्रमणको चपेटामा पर्दै गइरहेको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ ।

चौकीडाँडा सामुदायिक वनमात्र नभइ जिल्लामा बढ्दो अतिक्रमण रोक्न वन कार्यालयले अभियाननै संचालन गर्ने डिभिजन वन अधिकृत केशव पराजुलीले बताए । उनले भने –‘बसन्ता, राष्ट्रिय तथा सामुदायिक वनभित्र भइरहेको अतिक्रमण हटाउने प्रयास भइरहेको छ । यसमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको छ ।’ उनले पछिल्लो समय वन अतिक्रमण व्यक्तिभन्दा पनि संस्थागत रुपमै बढी भइरहेको बताए ।

डिभिजन वन अधिकृत पराजुलीले पहाडमा थोरै जग्गा भएका व्यक्ति पनि तराइको सामुदायिक वनमा आएर अतिक्रमण गरेर बस्ने गरेको बताए ।  उनले भने –‘चौकीडाँडा वनमा सुकुम्वासीका नाममा पहाडबाट भुमाफियाहरुले पैसा लिएर बसोबास गराइरहेका थिए । वन अतिक्रमण बढ्दै गएपछि डोजर चलाइएको हो । अब त्यहाँ तारजाली लगाएर संरक्षण गरिने छ ।’

No description available.

वनले हटायो कहाँ गएर बस्नेः पीडित

No description available.

कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ३ स्थीत चौकीडाँडा र बडीमालीका सामुदायिक वन क्षेत्रमा वन कार्यालयले डोजर चलाएर अतिक्रमण हटायो । तीन वर्षदेखि बस्दै आएको टहरा भत्काएपछि अहिले पीडितहरु बसोबासको व्यवस्थापन सरकारले गर्नुपर्ने बताउँदै आएका छन् ।

घरबारविहिन बनेकी अम्बिकाले आफूहरुलाई सोही ठाउँमा बस्न नदिए सरकारले अन्यत्र कुनै ठाउँ व्यवस्थापन गर्नुपर्ने बताइन् । उनले भनिन –‘वन र सडकमा बस्न कसलाई रहर छ । गरिवीका कारण पहाडबाट जिविकोपार्जनका लागि यहाँ बसे । वन कार्यालयले उठिबास बनायो ।’

No description available.

अम्बीका पहिलेदेखि नै डडेल्धुरामा बस्ने भएपनि उनको पहाडमा कुनै जग्गा नभएपछि छोरी सरितासँग चौकीडाँडा वनमा टहरा बनाएर बस्दै आएकी थिइन् । 

डडेल्धुराकी समुन्द्राका सन्तान भारतमा रोजगारी गर्छन् । घरमा कोही नभएपछि कैलालीको गोदावरीमा आइन् । घरमा एक्लै भएपछि समुदायमा हेरचाह हुने आशमा सामुदायिक वनमा बस्न लागेकी थिइन् । उनका तीन छोरा छन् । ‘घरमा एक्लै भएपछि कसैले हेर्छन की भनेर यहाँ बस्न लागेको छु । तर, अहिले वनले बस्न दिएन् ।’

उमेरले ८० नाघेकी उनको टहरा वन कार्यालयले भत्काएपछि कहाँ गएर बस्ने भन्ने दोधारमा छन् । ‘यस बुढेसकालमा हामी यति दुःख कष्ट गरेर बसेको किन सरकारले देखेन, हामीले बन नै मासेका पनि थिएनौ,’ उनले भनिन् ‘हामी यस देशका नागरिक भए हाम्रो पनि त व्यवस्थापन यस सरकारले गर्नुपर्छ । कि त सरकारले हामीलाई यस देशकै नागरिक नै होइन भनोस नभए हाम्रो पूर्नस्थापना गनुपर्छ ।’ 

दार्चुलाको मालीकाअर्जुन गाउँपालिका मौपालिकी जानकी श्रीमान, एक छोरा, एक छोरीसँग वनभित्र टहरा बनाएर बस्दै आएकी थिइन्  । तर डोजर चलेपछि आफ्नो बिचल्ली भएको उनको दुखेसो छ । ‘बसेको बर्षौसम्म ब्यवस्थापन नगरेर यसरी हटाउँदा अहिले दिन रात काट्न समस्या भइरहेको छ । टहरा फालेपछि गर्मीमा सडक छेउमा डरै–डरमा रात बिताउनुपर्ने अवस्था रहेको छ’ उनले भनिन् ।

No description available.

डिभिजन वनले बस्ती नै खाली गरेपनि उनीहरु त्यहाँबाट हटेका भने छैनन् । उनीहरुले त्यहाँ प्लास्टीकका साना एक÷दुइ टहरा बनाएका छन् जसमा महिला एक तिर सुत्छन् भने पुरुष अर्को तिर सुत्ने गरेका छन् ।

जव बस्दै आएको टहरामा डोजर चल्यो

चौकीडाँडा वनमा बस्दै आएकी अम्बीका ताम्राकार दमकी बिरामी औषधी खाने तयारीमा थिइन् । अम्बीका उमेर झन्डै ८० पुगिन् । उनले औषधी खान नपाउँदै डिभिजन वन कार्यालयले घर टहरामा डोजर चलायो । त्यसपछि उनको औषधी खानतिर पनि ध्यान गएन । डोजर चलेको देखेपछि एक्कासी सास बढेर उनी बेहोस भइन् । 

डोजरले बनेका साना टहरा हट्न थालेपछि हतार हतार गर्दै कोहीले त्यहाँ रहेका सामान निकाल्दै थिए भने कतिपयले बिरोध जनाउदैँ थिए । तर, अम्बीका श्वासप्रश्वासकोे बिरामी भएकीले न त बिरोध नै गर्न सकिन न त कुनै सामान नै निकाल्न पाइन । 

यो खबर उनकी छोरी सरिता रैकाले सुनिन । मजदुरी गर्न गएकी सरिता काम छोडेर बस्ती तर्फ आइन । मजदुरी गर्न चौकीडाँडाबाट झन्डै दुई घण्टा टाढा गएकी सरिता आमा बेहोस भइन भनेपछि हतारिदैँ आएकी थिइन् । उनी पुग्नसम्म टहरालाई डोजरले तहस–नहस गरि सकेको थियो । ‘म काम गर्न गएकी थिए । आमा सँगै मेरा पनि दुइ छोरा छन् । उनीहरुको खानाको जोहो गर्न काम गर्न गएकी थिए । तर, आउन्जेल सम्म टहरा नै रहेन,’ सरिताले भनिन –‘आमा पनि बेहोस थिइन । आमाको उपचारका लागि पैँसा थिएन । हामी सँग अरु के नै हुन्छ र मजदुरी गरेर साना कानमा एक आनाको बाली बनाएकी थिए । त्यहि बेचेर औषधी ल्याएर आमालाई दिए ।’

सरिताका दुइ दाई भारतमा काम गर्न गएको बर्षौ भइसकेको छ । उनीहरु नेपालमा घरबाँस नभएपछि उतै बस्छन् । बुवाको पनि १२ वर्ष पहिले मृत्यु भएपछि उनले आमालाई आफूसँगै राखेको बताइन् ।