‘ए’ डिभिजन लिगः सातदोबाटोमाथि संकटाको जित

‘ए’ डिभिजन लिगः सातदोबाटोमाथि संकटाको जित

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले सातदोबाटो युथ क्लबमाथी सहज जित दर्ता गरेको छ ।

च्यासल मैदानमा भएको खेलमा संकटाले सातदोबाटोलाई २–० गोल अन्तरको हराएको हो ।

संकटाको जितमा दुबै गोल युसेफ एट्रिसले गरे । जितसँगै १६ खेलमा २० अंक जोडेको संकटा अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ । १६ खेलमा २३ अंक रहेको सातदोबाटो पाँचौं स्थानमा छ ।

आजै भएको अर्को खेलमा थ्री स्टार क्लबले एनआरटीसँग बराबरी खेल्दै अंक बाँडेको छ । दशरथ रंगशालामा थ्री स्टारले एनआरटीसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । थ्री स्टारलाई जित निकाल्दै शीर्ष स्थानको चर्च ब्वाईजसँग अंक बराबरी गर्ने अवसर थियो । तर टिमले एनआरटीविरुद्ध जित निकाल्न भने सकेन ।

थ्री स्टारविरुद्ध प्राप्त अंकले एनआरटीलाई भने राहत दिएको छ । उसले रेलिगेशन जोनमा रहेको खुमलटार भन्दा एक अंक बढी जोडेर १८ अंक बनाएको छ ।