माफ गर्नुस् यसरी म ‘फेमिनिस्ट’ हुन सक्दिन!

धनगढी खबर    

माफ गर्नुस् यसरी म ‘फेमिनिस्ट’ हुन सक्दिन!
  • भावना शर्मा -

सामाजिक संजालतिर अचेल आमाको नामबाट नागरिकता पाउने बिषयमा ठूलै बहस छेडिएको छ। आजसम्म पनि हाम्रा कुनै पनि दस्तावेजमा आमाको नाम लेखिएन। भोलि हाम्रा सन्तानका दस्तावेजमा कम्तीमा हाम्रो नाम लेखियोस् भन्नु नै अहिलेको माग हो। पक्कै पनि अब हाम्रा सन्तानको दस्तावेजमा हाम्रो नाम लेखिनैपर्छ। आमाको नामबाट सहजै नागरिकता पाउनुपर्छ र हाल बहसमा रहेको नागरिकता विधेयकमा रहेको विभेदको अन्त्य हुनैपर्छ।  

म सँधै महिलामाथि हुने सबै किसिमका विभेदको विरोध गर्छु। तर विरोधको शैली अराजक हुनुपर्छ भन्ने म मान्दिन। हिजोआज यौटै नाराले मलाई सताइरहेछ। ‘मेरा बाबु बेपत्ता होइनन् मेरी आमाका बलात्कारी हुन्’ यो नाराले असर गर्ने म मात्रै होइन रहेछु ठूलै जमात रहेछ। नागरिकतामा आमाको नाम हुनैपर्छ यसमा दुईमत छैन तर यहि आन्दोलनका लागि तय गरिएका नाराहरुले भने हाम्रो सभ्यताको जगलाई कमजोर बनाउनु हुँदैन भन्नेमा पनि हामीले सचेत हुनैपर्छ। 



“बलात्कारपछि जन्मिएका सन्तानको पक्षबाट लेखिएको” भनिएको यो नारालाई यति सामान्यीकरण गरिएको छ कि पढ्नेले संसारका सबै ‘बा’लाई आमाको बलात्कारी भन्न बाध्य हुन्छन्। यसबाट त हामी सबैका बाको सम्मान खोसिएको छ। आमाको नामबाट नागरिकता पाउनुपर्छ भन्नेमा पूरै सहमत रहेर पनि म यो नाराप्रति बिल्कुलै असहमत छु। माफ पाउँ ‘बा’को मानमर्दन गर्ने कुनै पनि वाक्यांश मलाई मञ्जुर छैन। 
मान्छे बुझ्न सार्वजनिक यातायात जतिको सहज अन्त कहाँ होला र! आज घरबाट अफिस आउने क्रममा सार्वजनिक यातायातको वृद्ध सिटमा बसेका दुईजना बाहरुको कुरा सुनिरहें। सेतै कपाल फुलेकामध्ये एकजना भन्दै थिए ‘हाम्ले त सँधै छोराछोरीको भविष्य बनाउन नै दुःख गरेम् खै किन हो अपशब्द गरे रे!’ अर्का बाले चित्त दुखाउँदै भने-‘अचेल त केही बोल्दा नि डरै मर्नु छ हजूर कसलाई के भन्नु? यी यै सिटमा पनि नदेखे झैं गरी नानीहरु गजक्क परेर बसिरहन्छन्। सिट मरे छोड्दैनन्। म त बरु चुपै लागेर उभिइरहन्छु।’ दुईबीच लामै गफ चल्यो म चुपचाप सुनिरहें।
दुईमध्ये एकजना सिन्धुलीतिरका बा पुरेत्याईं गर्दा गरेछन्। जजमानकहाँबाट बोकेर आएको खानेकुरा छोरा र छोरीको घरमा पालैपालो पुर्‍याउँदा रहेछन्। गफिँदै गर्दा उनले भने ‘धन्न बुहारीले रातो चामल केलाउन झर्को मान्दिनन् हजूर मेरालागि छोरी र बुहारी एकै छन्।’ बिचरा यी बाहरुको कुराकानी सुन्दा लाग्यो उनीहरुलाई घरपरिवारदेखि समाजका कति धेरै कुराले पिरोलिरहेछ। खुलेर ‘बलात्कार’ शब्दसम्म पनि उच्चारण गर्न  नसक्ने बाहरुलाई छोरीहरुले नाराबाट ‘अपशब्द’ गरेकोमा चिन्ता उत्तिकै थियो।  जीवनभर सन्तानकालागि नङ्ग्रा खियाएका यी बाहरुलाई ‘आमाका बलात्कारी’ भन्दा कति पिर पर्दो हो! उनी त आजपनि जजमानकहाँबाट उठाएको अक्षता मिसिएको चामल छोरा र छोरीको घरमा पालैपालो पुर्‍याइरहेका छन्। उनलाई आमाका बलात्कारी भन्ने नैतिकता उनकी छोरीसँग छ?

सानामा म मेरै बाको पाखुरालाई सिरानी बनाएर सुत्थें। मेरै बाको छातीमा टाउको अड्याएर निदाउँथे। अँध्यारोमा डर लाग्दा पनि बालाई नै बोलाउँथे किनकी मेरालागि बाको छातीजति सुरक्षित ठाउँ अन्त थिएन। बाको छातीमा टाउको घुस्रिएपछि केको डर! सानामा मलाई मेरै बा संसारका सबैभन्दा ठूला र असल मान्छे हुन् भन्ने लाग्थ्यो, अझै लाग्छ। म कसरी उनी मेरी आमाका बलात्कारी हुन् भनेर ठोकुवा गरौं, मेरा बाले त कहिल्यै आमालाई ठूलो स्वर गरेकोसम्म थाहा छैन। 

‘मेरा बा मेरी आमाका बलात्कारी हुन्’ यो नाराले कति नकारात्मक छाप छोड्छ लेख्नुअघि हामीले विचार गर्नु पर्छ कि पर्दैन? यस्तै नाराहरुले लखेट्न थालेपछि अब कुनचाहीँ छोरी झ्याम्म आफ्नो बालाई अंगाल्न पुग्ली! बासँग नसुती निन्द्रा नलाग्ने साना छोरीहरुको दिमागलाई यस्तो नाराले कुन दिशामा मोड्ला? सोचौं त हाम्रा छोरीहरुले सानैदेखि यस्ता नाराहरुको सामना गर्नुपरे बाप्रतिको धारणा कस्तो बन्ला? बलात्कारी त बलात्कारी नै हो। ऊ न कसैको बाबु हो न कसैको दाजुभाइ न छोरानाति! ऊ त पुरुष जातिकै कलंक हो। बलात्कारीकालागि कुनै नाताको प्रयोग गर्नु हुँदैहुन्न। यस्तोमा कसरी नारा लगाउने ‘मेरा बा मेरी आमाका बलात्कारी हुन्।’

हुर्किँदै गर्दा मेरा बाले भन्थे छोरी ब्यूटीफुल होइन बोल्ड बन्नुपर्छ! सानो छँदा त्यो ‘बोल्ड’ भनेको के होला भन्ने सोचिरहन्थें । शब्दकोष पल्टाएर खोजें बोल्ड भनेको त साहसी, आत्मविश्वासी अनि हरेक किसिमका जोखिमहरु लिन सक्ने खुबी भएको भन्ने जस्तो अर्थ रहेछ। अहिले लाग्छ सानै उमेरमा मेरोलागि मेरा बाले चयन गरिदिएको शब्द मलाई मानसिक रुपमा दह्रो बनाउनका लागि थियो। हुर्किने क्रममा मलाई सँधैभरी आत्मविश्वासी र साहसी भएर उभिनुपर्छ भनेर सिकाउने मेरा बा नै थिए। त्यसैले अहिले पनि महिलाहरुको पक्षमा बोल्दै गर्दा, लेख्दै गर्दा मलाई पुरुषहरुको विरोध गरेपछि मात्रै यो पूरा हुन्छ भन्ने लाग्दैन। किनकी मेरा बा कहिल्यै छोरीमान्छेको विरोधमा उभिएनन् बरु छोरी मान्छेले बोल्ड हुनुपर्छ है भनेर सिकाए। 

भारतीय फेमिनिस्ट तथा लेखक कमला भासिनले ‘हाम्रो लडाइ पुरुषहरुसँग होइन पुरुषसत्तासँग हो’ भनेको धेरै अघि हो। भासिनले यो पुरुषसत्ता भनेर ‘पुरुष’ जातिलाई मात्र भनिएको हो कि पितृसत्तालाई दिमागमा बोकेर हिँड्ने पुरुष र महिला दुबै वर्गका लागि हो? म बारम्बार सोच्छु। के महिलावादी हुनु भनेको पुरुषलाई गाली मात्रै गर्नु र यो समाजमा म चाहीँ अरुभन्दा बेग्लै विद्रोही पात्र हुँ भनेर देखिनु मात्र हो? विभेदको विरोधमा हामीसँगै उभिएका पुरुषहरुपनि फेमिनिस्ट हुन् भन्न किन हच्किन्छौं हामी? किन उनीहरुलाई नै अनेक उपमा दिएर अधिकारप्राप्तिको यो आन्दोलनलाई असभ्य र अमर्यादित बनाउँदैछौं? यदि मेरा बालाई गाली गरेर मात्रै म ‘फेमिनिस्ट’ हुन्छु भने माफ गर्नुहोला, म फेमिनिस्ट हुन सक्दिन। 

आन्दोलनले नै नाराहरु तय गर्छन्। अनि नाराले आन्दोलनको दिशा तय गर्छ। यो आन्दोलन महिलाहरुका निम्ति हो। यो आन्दोलनमा हाम्रा बा पनि हामीसँगै छन्। नागरिकतामा आमाको नाम लेख्नुपर्छ भन्दै हामीलाई नै समर्थन गरेर प्ले कार्ड बोक्ने हैसियतमा छन् हाम्रा बा हरु।  कम्तिमा त्यतिको बिवेक हाम्रा बा हरुसँग पनि छ है! यहिँनेर ‘बा’ लाई बलात्कारी घोषणा गरेर यो आन्दोलनलाई नै घिनलाग्दो नबनाऔं किनकी मेरा बा कहिल्यै कसैका बलात्कारी थिएनन्, होइनन्। अनि हामी कसैका पनि बा कहिल्यै पनि बलात्कारी हुनै सक्दैनन्। 
 

सोमबार ०४, भदौ २०७५ ०२:११ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस