मजदुरीभन्दा ठेलाबाट दोब्बर कमाइ

मजदुरीभन्दा ठेलाबाट दोब्बर कमाइ

महेन्द्रनगर । दार्चुला जिल्लाका रामसिंह धामी ठेलामा तरकारी बेच्नुहुन्छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बस्नुहुने ४८ वर्षीय धामी २० वर्ष भारतको दिल्ली लगायत विभिन्न ठाउँमा मजदुरी गरेर २०७६ चैत २८ गते घर फर्किएका हुन्। 

घर फर्केपछि पनि पुनः भारत फर्कने सोच बनाएका धामीले यतै केही गर्ने सोच राखे। धेरै लगानी लाग्ने कामका लागि पैसा नभए पनि उनले कम लगानीमा हुने व्यवसाय गर्नुपर्ने थियो। 

उनले ठेलामा तरकारी बेच्ने निधो गगरे र अहिलेसम्म निरन्तर यही व्यवसाय गरिराखेका छन्। “मैले सुरु गरेको दुई वर्ष जति भयो भारतमा भन्दा राम्रो रकम बचत गरिरहेको छु, भारतमा २० हजार नेपाली तलब पाउँथेँ यहाँ खर्च काटेर दैनिक एक हजार भन्दा माथि बचाउँछु,” धामीले भने। 

“अहिले २० वर्ष किन भारत बसेहुँला जस्तो लाग्छ, काम सानोठूलो हुँदैन, आफ्नो देशमा गरेमा परिवारसँग बस्न पाएको छु, उनले थने।” 

गुल्मीका नित्यानन्द घिमिरे पाँच वर्ष मलेसियामा मजदुरी गरेर आए। कोरोना महामारीपछि उनी नेपाल फर्किए । बसपार्क नजिक भाडामा बस्ने उनी पनि ठेलामा तरकारी बेच्छन्। मलेसियामा ६० हजार रुपियाँ मासिक कमाउने उनी ठेला व्यवसायबाट मासिक ८० हजार रुपियाँ कमाउँछन्।

सिजनल रूपमा काफल, तरुल, अंङुर, तरकारीलगायतका वस्तु बेच्नुहुने उनी महेन्द्रनगर बजारमा ठेला घुमाएर व्यापार गर्नुहुन्छ। उनले भने, “मैले मासिक ८० हजार रुपियाँ यतै कमाइरहेको छु, देशमा काम गर्न लाज मान्नु हुँदैन भन्ने अनुभव भएको छ, सबैलाई देशमै काम गर्न र उत्पादनमूलक काममा लगानी गर्न अनुरोध गर्छु।”

यस्तै कोरोनाअघि भारतको दिल्लीमा १६ हजार रुपियाँमा मजदुरी गर्ने नरेन्द्रसिंह धामी अहिले महेन्द्रनगरमा ठेलामा तरकारी बेच्छन्। उनी  कोरोना सङ्क्रमणपछि नेपाल फर्किए। उनी भन्छन, “अहिले ठेलामा फलफूल व्यवसायबाट मासिक ३० हजार रुपियाँ बढी कमाइ भइरहेको छ।”

भीमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने दम्पती तारा पार्की र ईश्वरी पार्की दुई वर्षअगाडि भारतको बेङ्गलोरमा काम 
गर्थे। कोरोना महामारीमा २०७६ साल वैशाखमा घर फर्किनुभएका पार्की भारतमा २० हजार नेपाली रुपियाँ कमाई भयो । 

तर अहिले ठेलामा दुई वटै बुढाबुढी तरकारी बेच्छन्। उनीहरू मासिक ५० हजार रुपियाँ कमाइराख्नु भएको छ। उनले भने, “दुई वर्षदेखि ठेलामा तरकारी व्यवसायी गरेका छौँ, सन्तुष्ट छौँ।”

यी त प्रतिनिधि पात्र मात्र हुन्। यस्तै कञ्चनपुरमा तीन सयभन्दा बढी ठेला व्यवसायी रहेको र ९० प्रतिशत नेपाली रहेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले बताए। यस्तै लामो समयदेखि ठेला व्यवसाय गरिरहेकाहरू स्थापित भइसकेका छन्। 

२०५४ सालमा बैतडीको तत्कालीन दशरथचन्द नगरपालिका–१३ (हाल दोगडाकेदार नगरपालिका–४) का वडाध्यक्ष भइसक्नुभएका दामोदर भट्टले २०६४ सालमा सुरु गर्नुभएको ठेलामा ब्रेड बेच्ने व्यवसायलाई छोरा जगदीश भट्ट र बुहारी हीरा कुमारी पाण्डेय भट्टले अगाडि बढाएको छ। पाँच वर्षपहिले दामोदरको स्वास्थ्य अवस्था खराब भएपछि उनी पहाड गए र छोरालाई जिम्मेवारी दिए। अहिले छोराबुहारी दुवै मिलेर चिया, समोसा, ब्रेड, अन्डा, पकौडा, मःम, बिरयानीलगायतका खानेकुरा बनाउने उनीहरूले मासिक ६० हजार रुपियाँ कमाइ गरिराखेका छन्। 

ठेला व्यापारी भट्टले भने, “मान्छेले कर्म गर्नुपर्छ, आफ्नै देशमा काम गर्न सिक्नु पर्छ, मासिक कम्तीमा ६० हजार रुपियाँ कमाइ हुन्छ।” ठेला बाट कमाएर उनले भीनपा–२ मा एक कट्टा जग्गा पनि खरिद गरेका छन्।  

कैलाली जोशीपुर बस्ने सागर चौधरी भीमदत्त नगरपालिका– २, भाँसीमा भाडामा बस्छन्। उहाँ र उनीकी श्रीमती सञ्जुले पानीपुरी, जुस र फलफूल बेच्ने गर्दछन्। सबै खर्च काटेर ७० हजार रुपियाँ मासिक कमाउने गरेका छन्।

१५ वर्षदेखि ऐठपुर नहरनजिक ठेला पसल सञ्चालन गर्दै आएका सुरेश भट्ट र उनका तीन भाइको ठेलामै काम गर्छन्। उनले पनि मासिक एक लाख कमाइ गरेछ। 

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुवा यज्ञराज पन्त र आमा लक्ष्मी पन्तले १६ वर्ष देखि महेन्द्र राजमार्गमा पर्ने भाँसी चोकमा ठेला बाट पानीपुरी, चाट, ब्रेड र चाउमिन बेच्दै आएका छन् । उनीहरूले पनि मासिक ८० हजार रुपियाँभन्दा बढी कमाइ हुने बताउँछन् । 

यस्तै होटल ओपेरा अगाडि ठेलामै मःम, चाउमिन र बिरयानी बेच्ने लक्ष्मी जोशी कोरोनाअघि भारतको हरियाणामा मासिक १६ हजार कमाउँछन। उनले अहिले मासिक ६० हजार रुपियाँ कमाउने बताए । 

कोरोना महामारीपछि महेन्द्रनगर बजारमा ठेला व्यवसायमा नेपालीहरू देखिन थालेका हुन्। दशकौँदेखि प्रायः भारतीय नागरिकले ठेला व्यवसाय गर्दै आएका थिए। ठेलाबाट गरिने तरकारी, ब्रेड पकौडा, अन्डा, चाट, मःम, पानीपुरी, समोसा, चिया, बिरयानी, लुगाकपडा, पराठा, मकै, आइसक्रिम, फलफूललगायतका वस्तु बिक्री हुने गर्छन्।

२०७६ साल चैतमा कोरोनाका कारण लकडाउन भएपछि भारतबाट नेपाल फर्केका नेपाली धेरै मजदुर भारत फर्केनन्, बरु नेपालमै बसेर सानोतिनो व्यवसाय गर्न लागे। नेपालीले व्यवसाय सञ्चालन गर्न थालेपछि भारतीयहरू विस्थापित हुनुपरेको उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले बताए ।  -(गोरखापत्र)