लखनउविरुद्ध गुजरातको सानदार जित

लखनउविरुद्ध गुजरातको सानदार जित

काठमाडौँ । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सविरुद्ध सानदार जित निकालेको छ ।

आइतबार भएको खेलमा गुजरातले लखनउविरुद्ध ५६ रनको जित निकालेको हो । २२८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको लखनाउले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७१ रन मात्रै बनाएपछि गुजरातले फराकिलो जित निकालेको हो ।

लखनउका लागि डि ककले ४१ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ७० रन बनाए । त्यस्तै, कायल मयर्सले ३२ बलमा सात चौका र दुई छक्का प्रहार गर्दै ४८ रन बनाए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । पहिलो विकेटका लागि यी दुई खेलाडीले ८८ रनको साझेदारी गर्दैै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर यसपछि आएका ब्याटरले लखनउको पाली धान्न सकेनन् । आयुष बदोनीले २१ रन बनाए । बलिङतर्फ मोहित शर्माले चार विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम गुजरातले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २२७ रन बनाएको थियो । गुजरातका लागि ऋद्धिमान साह र शुभमन गिलले उत्कृष्ट ब्याटिङ गर्दै पहिलो विकेटका लागि १४२ रनको साझेदारी गरे । शुभमनले ५१ बलमा सात छक्का र दुई चौका प्रहार गर्दै अविजित ९४ रन बनाए । त्यस्तै, ऋद्धिमानले ४३ बलमा १० चौका र चार छक्का प्रहार गर्दै ८१ रन बनाए । कप्तान हार्दिक पाण्ड्याले २५ र डेविड मिल्लरले २१ रन बनाए ।

यो जितसँगै गुजरातले ११ खेलबाट १६ अंक बनाएको छ । योसँगै गुजरातले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ ।