फेरी सारियो मतदान मिति, अब शुक्रबार विहानदेखि अघि बढाइने

फेरी सारियो मतदान मिति, अब शुक्रबार विहानदेखि अघि बढाइने

धनगढी । नेपाल ट्रेड  युनियन काँग्रेस कैलालीको मतदान मिति दुई दिन पर सारिएको छ । नेपाल शिक्षक संघ र नेपाल कृषि श्रमिक संघका पदाधिकारी अनुपस्थित भएपछि निर्वाचन समितिले मतदान मिति दुई दिन पर सारेको हो ।

निर्वाचन समितिका सदस्य  सिताराम जोशीले धेरै मतदाता अनुपस्थित भएपछि मतदान मिति सार्नुपरेको बताए । उनका अनुसार युनियनको मतदान शुक्रबार विहान ८ बजेदेखि शुरु गर्ने गरि बुधबार स्थगित गरिएको हो ।

बुधबार दिउसो १ बजेदेखि मतदान प्रक्रिया अघि बढाउने भनेर आवद्ध संगठनका अध्यक्षहरुले सहमति गरेका थिए । तर, मतदान समय नजिकिदै गर्दा दुई संगठनले मतदान मिति सार्न निर्वाचन समितिलाई दबाब दिएको थियो । 

युनियनको अध्यक्षमा सर्वसम्मत रुपमा सुरतबहादुर स्वाँरलाई बनाउन आवद्ध संगठनका अध्यक्षहरुको दबाब भएपनि नेपाल शिक्षक संघले भने असहमति जनाउँदै प्रतिनिधिलाई अध्यक्ष  पदमा मनोनयन दर्ता गर्न लगाएको छ ।

नेपाल शिक्षक संघका ज्ञानेन्द्रबहादुर शाहलाई २०७४ सालमा अध्यक्ष बनाउनका लागि अर्को कार्यकालमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघका प्रतिनिधि सुरतबहादुर स्वाँरलाई अध्यक्ष बनाउने सहमति गर्दै उम्मेदवारी फिर्ता गराएका थिए । तर, मंगलबार तय भएको युनियनको निर्वाचनमा शिक्षक संघले प्रतिनिधि जयप्रकाश मिश्रलाई अध्यक्षमा अघि बढाउँदै पूर्ववत सहमति तोडेको हो ।

छैठौ अधिवेशनमा नेपाल शिक्षक संघबाट भुपाल खडकाले सातौं अधिवेशनमा सर्वसम्मत ढंगले स्वाँरलाई अध्यक्ष बनाउने भन्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । 

नेपाल शिक्षक संघ, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, नेपाल वित्तिय संस्था कर्मचारी संघ, नेपाल स्वास्यकर्मी संघ, नेपाल प्रेस युनियन लगायतका १५ संगठनको आवद्धतामा  ट्रेड  युनियन काँग्रेस गठन गरिएको हो ।

स्वार र मिश्रसहित युनियनको पदाधिकारीका लागि ८१ जनाको मनोनयन दर्ता भएको छ । युनियनको उपाध्यक्ष महिलामा शान्ति भट्ट र निर्मला चौधरी, कोषाध्यक्षमा खम्मबहादुर शाह र सागर जोशीले मनोनयन दर्ता गराएका छन् । केन्द्रिय प्रतिनिधि, प्रदेश प्रतिनिधि लगायतमा पनि मनोनयन दर्ता भएको छ । युनियनमा दुई सय ४७ मतदाता रहेका छन् । त्यसमध्ये नेपाल शिक्षक संघबाट ६२ जना मतदाता रहेको सचिव ओझाले बताए ।