कांग्रेसबाट थपिए तीन मन्त्री

कांग्रेसबाट थपिए तीन मन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् । 

नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले गुरुङ, बस्नेत र लिम्बूलाई मन्त्री नियुक्त गरी कार्यभार तोकेको जानकारी दिए ।

सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये बाँकी रहेका तीनवटा मन्त्रालयमा मन्त्री नियुक्त भएका हुन् ।

कांग्रेसबाट यसअघि पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग बाणिज्य तथा आपुर्ति, एनपी साउद परराष्ट्र र सीता गुरुङ शहरी विकास मन्त्री नियुक्त भइसकेका छन् ।

मन्त्री नियुक्त भएका गुरुङ र लिम्बू कोइराला समूहका नेता हुन् भने बस्नेत संस्थापन पक्षका नेता हुन् । यसअघि गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएपछि नेता कोइराला समूहले त्यसमध्ये तीन मन्त्री पाउनुपर्ने दाबी गर्दा मन्त्रिपरिषद् विस्तार रोकिएको थियो ।

पहिलो चरणमा चारै जना सभापति शेरबहादुर देउवा पक्षबाट मन्त्री बनेका थिए । पछि देउवानिकट एनपी साउद परराष्ट्रमन्त्री भए । तर ढिला गरी मन्त्रिपरिषद् विस्तार गराएपनि देउवाले ८ मध्ये ६ मन्त्री आफ्नो समूहबाट बनाएर कोइराला पक्षलाई दुई वटा मन्त्रालयमै सीमित गरेका छन् ।

राष्ट्रपति कार्यालयकाअनुसार मन्त्रीहरुको सपथ बिहीबार दिउँसो तीन बजे हुनेछ ।